© 2026
बर्दिया । रसुवाको भोटेकोसी नदीमा बुधबार आएको बाढीपछि बर्दियाका ९० जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीपछि रोजगारीका सिलसिलामा रसुवा पुगेका बर्दियाका ९० जना सम्पर्कमा आउन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो ४ बजेसम्म आफन्तबाट प्राप्त जानकारीअनुसार बर्दियाका ९० जना रसुवामा सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । सम्पर्कविहीन व्यक्तिका आफन्तले फोनमार्फत जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने क्रम जारी रहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया नगरपालिकाका २, गेरुवा गाउँपालिकाका १८, ठाकुरबाबा नगरपालिकाका १०, बाँसगढी नगरपालिकाका २५, बढैयाताल गाउँपालिकाका १८, राजापुर नगरपालिकाका १६ र मधुवन नगरपालिकाका एक जना सम्पर्कमा आउन सकेका छैनन् ।
बुधबारदेखि सम्पर्कविहीन रहेका बर्दियाका राकेश चौधरीले बिहीबार दिउँसो रसुवाको मैलुङबाट फोन सम्पर्क गरी बर्दियाका करिब २०० जना सुरक्षित रहेको जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा सहयोग गर्न रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको सहायक प्रजिअ भण्डारीले जानकारी दिए ।
यस्तै, गेरुवा गाउँपालिका–२, बनघुस्राका धनीराम दहितले पनि बिहीबार फोन सम्पर्क गरी रसुवाको उत्तरगया गाउँपालिका–१, तिरुस्थित आधारभूत विद्यालयमा आफू सहित करिब १५० जना सुरक्षित रहेको जानकारी गराएको प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए ।
सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि सम्बन्धित स्थानका निकायसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।