© 2026
सल्यान । भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
आफ्नै गाउँपालिकाका ११ जना नागरिक बाढीपछि सम्पर्कविहीन भएपछि गाउँपालिकाले आर्थिक सहयोगसँगै उनीहरूको खोजीका लागि प्रतिनिधिमण्डल नै प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।
बिहीबार बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले विपद्पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । उक्त रकम एक दुई दिनभित्र कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिए ।
बैठकले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका त्रिवेणी गाउँपालिकाका ११ जना नागरिकको अवस्था पत्ता लगाउन गाउँपालिकाको प्रतिनिधिमण्डल प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पठाउने निर्णयसमेत गरेको छ ।
अध्यक्ष रावतका अनुसार प्रतिनिधिमण्डल शुक्रबार बिहान करिब ८ बजे प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने तयारीमा छ । गाउँपालिकाका प्रतिनिधिसँगै सम्पर्कविहीन नागरिकका आफन्तलाई समेत खोजी कार्यमा सहभागी गराइने उनले बताए । “भोलि शुक्रबार बिहान ८ बजेतिर बाढी प्रभावित क्षेत्रतिर हिँड्ने तयारी भएको छ,” अध्यक्ष रावतले भने, “आफन्तहरूलाई पनि सँगै लिएर जान्छौँ । गाउँपालिकाकै एउटा गाडी छ भने अर्को एउटा गाडी पनि रिजर्भ गरेका छौँ ।”
प्रतिनिधिमण्डलले सुरुमा चितवन पुगेर त्यहाँको प्रशासनसँग समन्वय गर्ने र त्यसपछि प्राप्त सूचना तथा अवस्था अनुसार प्रभावित क्षेत्रतर्फ अगाडि बढ्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । सम्पर्कविहीन नागरिकको खोजतलास, सम्बन्धित प्रशासन तथा सुरक्षा निकायसँग समन्वय र उनीहरूको अवस्था यकिन गर्नका लागि अध्यक्ष रावतकै नेतृत्वमा टोली जान लागेको हो ।
तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोसी नदी आसपास तथा रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताइएको छ । ती क्षेत्रमा मजदुरी तथा विभिन्न रोजगारीका सिलसिलामा पुगेका सल्यानका विभिन्न स्थानीय तहका नागरिकसमेत विपद्बाट प्रभावित भएका छन् ।
विशेष गरी त्रिवेणी गाउँपालिकाका ११ जना नागरिक अझै परिवार र गाउँपालिकाको सम्पर्कमा नआएपछि स्थानीय सरकार आफैँ खोजीका लागि सक्रिय भएको हो ।
बाढीपछिको अवस्थाबारे विभिन्न माध्यमबाट सूचना सङ्कलन भइरहेको भए पनि सम्पर्कविहीन ११ जनाको यकिन अवस्था अझै खुल्न नसकेको अध्यक्ष रावतले बताए । प्रभावित क्षेत्रमा पुगेर सम्बन्धित निकायसँग प्रत्यक्ष समन्वय गरेपछि उनीहरूको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।