Butwal Today

रसुवा बाढी : दाङबाट कामका लागि गएका २६ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

लमही ।

रसुवा र नुवाकोट जिल्लामा गएको भीषण बाढी तथा पहिरोका कारण कामको सिलसिलामा त्यहाँ पुगेका दाङसहित विभिन्न जिल्लाका २६ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन दाङका अनुसार उनीहरूको हालसम्म अवस्था बारे जानकारी नआएपछि खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आग्रह गरेको छ । देउखुरीका ४ युवा सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ ।

सम्पर्कविहीन हुनेमा राजपुर गाउँपालिका १ कठबेरुवाका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा लमही नगरपालिका ३ वनगाउँका शम्भुजीत चौधरी रहेका छन् । त्यसै गरि राप्ती गाउँपालिका–३, बसन्तपुर निवासी ट्रक चालक सर्वेश चौधरी सम्पर्कविहीन भएको आफन्तले बताएका छन ।

राजपुर गाउँपालिका १ कठबेरुवाका गोपाल चौधरीसँग ९७६९२१४३२८ र बुद्धिराम चौधरीसँग ९७६२०२५७०२ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपद्का कारण उनीहरू सम्पर्कविहीन भएपछि परिवार तथा आफन्तजन चिन्तित बनेका छन् । बाढी पहिरोमा दाङका अन्य स्थानीय तहका मानिसहरू पनि प्रभावित वा सम्पर्कविहीन भएको हुनसक्ने आकलन गरिएको छ ।

यसैबीच, राजपुर गाउँपालिकाका चार जना युवाले केही साताअघि लमही अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर भोटेकोशी क्षेत्रतर्फ गएको जानकारीसमेत प्राप्त भएको छ । तीमध्ये दुई जनाको अवस्थाबारे भने हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेको बताइएको छ। उनीहरूको नाम भने तत्काल खुल्न सकेको छैन ।

सम्पर्कविहीन हुनेमा तुलसीपुर उपमहानगरपालिका क्षेत्रका धेरै व्यक्ति रहेका छन् । उनीहरूमध्ये केही रसुवाको स्यार्पुबेसी स्वास्थ्य चौकी, मैलुङ हाइड्रोपावर तथा टिमुरे हाइड्रोपावरमा कार्यरत रहेका थिए भने केही नुवाकोटस्थित फेवा हाइड्रोपावरको सुरुङमा काम गर्दै आएका थिए ।

सम्पर्कविहीन हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ की प्रमिला बुढाथोकी, तुलसीपुरका कोपिला केसी, खम्बु बोहोरा र शिवशंकर जोशी रहेका छन् । त्यस्तै तुलसीपुर–१३ का लालबहादुर रोका, गोपीलाल रोका र नारायण अधिकारी तथा तुलसीपुरका शोभाराम योगी पनि सम्पर्कविहीन छन् ।

रोल्पा घर भई तुलसीपुर–६ मा बस्दै आएका ध्रुवबहादुर बुढामगर, तुलसीपुर–१९ दोघरेका पूर्णबहादुर बस्नेत तथा घोराही–१५ भरतपुरका सूर्यबहादुर केसी पनि सम्पर्कविहीन रहेको सूचनामा उल्लेख छ ।

त्यसैगरी तुलसीपुर–१८ का गोपाल परियार, विकास परियार र सुदन गिरी, तुलसीपुरकी सीमा चौधरी तथा तुलसीपुर–१२ का बजारु चौधरी, तिलक चौधरी र रामकुमार चौधरी सम्पर्कविहीन छन् । दङ्गीशरण गाउँपालिका–६ का प्रेम विक, राजपुर गाउँपालिका–१ कठबेरवाका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा घर भई दाङ बस्दै आएका राजेन्द्र महत पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

सम्पर्कविहीनमध्ये केही व्यक्ति फेवा हाइड्रोपावरको सुरुङमा र केही रसुवा तथा नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । उनीहरूबारे कुनै जानकारी वा सम्पर्क प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन आग्रह गरिएको छ ।

जानकारीका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, दाङको १२३४, प्रमुख जिल्ला अधिकारीको ९८५७८०७७७७ तथा जिल्ला प्रहरी कार्यालय दाङको ९८५७८०५५५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?