© 2026
लमही । रोल्पाको लुङ्ग्री गाउँपालिका÷२ सिर्पमा जन्मिएका २८ वर्षीय प्रेमबहादुर जि.एम. अहिले दाङको देउखुरीस्थित मौरिघाटमा प्रेम एट जेट वर्कशप एण्ड भ्लग सञ्चालन गरिरहेका छन् ।
बाइक मर्मतको सीप, मेहनत र कामप्रतिको लगावका कारण उनी अहिले व्यवसायसँगै सामाजिक सञ्जालमा समेत परिचित छन्। प्रेमबहादुरको सफलताको पछाडि भने वर्षौँको सङ्घर्ष छ । १४ वर्षकै उमेरदेखि उनले बिहान–बेलुका वर्कसपमा काम सिक्दै दिउँसो पढाइलाई अघि बढाए । सुरुवाती दिनमा काम गर्दा भोकै बस्नुपर्ने, बाइक धुँदा हातखुट्टा कुइनेदेखि अनेक कठिनाइ उनले भोगे । तर कठिनाइले उनको आत्मविश्वास कमजोर बनाएन, बरु सीप सिक्ने इच्छालाई अझ बलियो बनायो ।
एक समय उनले विदेश जाने सोचसमेत बनाए । पासपोर्ट बनाएर विदेश जाने तयारी गरेका प्रेमबहादुरले अन्ततः पासपोर्ट नै च्यातेर स्वदेशमै केही गर्ने निर्णय गरे । विदेश जान खर्च हुने रकम र समय आफ्नै सीप तथा व्यवसायमा लगानी गर्न सके नेपालमै अवसर सिर्जना गर्न सकिने निष्कर्षमा पुगेका उनी अहिले आफ्नो व्यवसायमार्फत आफूसहित पाँच जनालाई रोजगारी दिइरहेका छन् ।
उनको वर्कसपमा बाइक तथा विभिन्न सवारीसाधन मर्मतका लागि टाढा टाढाबाट समेत ग्राहक आउने गरेका छन् । ग्राहकको विश्वासलाई आफ्नो व्यवसायको सबैभन्दा ठुलो उपलब्धि मान्ने प्रेमबहादुर अझै पनि आफूलाई सिकाइको यात्रामै रहेको बताउँछन् ।
“धेरै दुःख गरेर ‘आज नभए भोलि त होला’ भनेर सङ्घर्ष गरियो । अझै पनि सिक्दै छु, तर अहिले खुसी छु,” उनी भन्छन् । प्रेमबहादुरको अनुभवले बिदेसिने तयारीमा रहेका युवालाई सीप र उद्यमशीलताको बाटो रोज्न सकिने सन्देश दिएको छ । उनको बुझाइमा विदेश जानका लागि खर्च गरिने रकम कुनै सीप सिक्न वा व्यवसाय सुरु गर्न लगानी गर्ने हो भने नेपालमै आफ्नो भविष्य बनाउन सकिन्छ ।
“विदेश जाने सोच बनाउनुअघि एउटा सीप सिकौँ । आफ्नो क्षमता र मेहनतमा लगानी गरौँ । आज नभए भोलि त्यही सीपले आफ्नो भविष्य मात्र होइन, अरूको भविष्य पनि बनाउन सकिन्छ,” उनी युवालाई सुझाव दिन्छन् ।
१४ वर्षको उमेरमा अरूको वर्कसपमा सीप सिक्न थालेका प्रेमबहादुरका हात आज आफ्नै व्यवसाय सम्हाल्दै पाँच जनालाई रोजगारी दिने अवस्थामा पुगेका छन् । उनको यात्रा विदेश नै सफलताको एक मात्र बाटो होइन, सीप, मेहनत र लगन भए आफ्नै देशमा पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।