Butwal Today

नतिजा खस्किएपछि शिवराज शिक्षा संवाद

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

चन्द्रौटा । शिक्षाविद् तथा प्राध्यापक डा. विद्यानाथ कोइरालाले बदलिँदो समयअनुसार शिक्षण सिकाइको परम्परागत शैली परिवर्तन गर्नुपर्ने बताए । शिवराज नगरपालिकाले शिवपुरमा आयोजना गरेको “शिवराज शिक्षा संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

निःशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयनका अवसर, चुनौती र भावी कार्यदिशाबारे बोल्दै शिक्षामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्ने कोइरालाले बताए । पुरानै शैली र तौरतरिकाबाट मात्रै शिक्षण गर्दा विद्यार्थीले प्रभावकारी रूपमा सिक्न नसक्ने उनले जनाए । शिक्षकले समयअनुसार आफूलाई परिमार्जन र परिस्कृत गर्न नसके शिक्षण क्षेत्रमा पछाडि पर्ने समेत डा. कोइरालाले चेतावनी दिए ।

शिक्षाको परिणामप्रति जिम्मेवार निकायले जिम्मेवारी लिन नचाहने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले जनाए । ‘हुँदैन’ र ‘सकिँदैन’ भन्ने मानसिकताबाट माथि उठेर शिक्षाको गुणस्तर सुधारमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए । शिवराजले सञ्चालन गरेको निःशुल्क शिक्षा निरन्तरता दिनुपर्ने बताउँदै चुनौती समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने डा. कोइरालाले जिकिर गरे ।

यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गरेको बताए । आफूले प्रचारप्रसार वा स्टन्टका लागि नभई नगरको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको उनले दाबी गरे । थापाले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि समान र निःशुल्क हुनुपर्नेमा जोड दिए ।

यसैबिच शिवराज नगरपालिकाका उपसचिव तथा शिक्षा प्रमुख पूर्णबहादुर विश्वकर्माले नगरपालिकाको शैक्षिक अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गरे । निःशुल्क शिक्षा कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भए पनि कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिन चुनौती रहेको बताए ।

कार्यक्रममा निःशुल्क शिक्षा कार्यान्वयन, यसको प्रभावकारिता तथा निरन्तरताका चुनौतीबारे प्यानल छलफलसमेत गरिएको थियो । छलफलमा नगर प्रमुख थापा, किर्डाक नेपालका गोविन्दबहादुर शाही, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुकी दिपा महतलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

नगरको आयोजना तथा किर्डाक नेपाल र स्ट्रोम फाउण्डेसनको सहकार्यमा बुधबार आयोजित कार्यक्रममा निःशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयनका अवसर, चुनौती र भावी कार्यदिशाबारे छलफलमा शिक्षाविद्, जनप्रतिनिधि, गैरसरकारी संस्था, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी भएका थिए ।

छलफलको सहजीकरण गोरखापत्र संस्थानका सह सम्पादक प्रकृति अधिकारीले गरेको नगरले जनाएको छ । तुलनात्मकरुपमा २०८२ को एसइई को नतिजा ४५ प्रतिशत थियो, भने ग्रेड वृद्धि पछि ९२ प्रतिशत रहेको पालिकाको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?