© 2026
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
त्यसै गरी, बैठकले बुटवल उपमहानगरपालिकाभित्र अलपत्र परेका नागरिकको उद्धारका लागि खर्च गर्न ५ लाख रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख पाण्डेयका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट सहयोग गर्ने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गरेको छ ।
प्राकृतिक विपद्का कारण उत्पन्न दुःखद परिस्थितिलाई ध्यानमा राख्दै नगर प्रमुख पाण्डेयले बुटवलका राजनीतिक दल, कर्मचारी तथा जनप्रतिनिधिलाई शोकको १३ दिनसम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन् ।
त्यसै गरी, उनले सम्पूर्ण राजनीतिक दल, व्यवसायी, सङ्घसंस्था तथा नगरवासीलाई एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अनुरोध गरेका छन् ।
पाण्डेयले व्यक्तिगत रूपमा सहयोग रकम सङ्कलन नगर्नसमेत आग्रह गर्दै त्यस्तो कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएका छन् ।
बुटवल उपमहानगरपालिकाभित्रका नागरिकलाई उद्धार वा अन्य कुनै सहयोग आवश्यक परेमा तत्काल नगरपालिकामा जानकारी गराउनसमेत उनले अनुरोध गरेका छन् ।