Butwal Today

भोटेकोसी बाढीले ४१ पुलमा क्षति, रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

बाढीले बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो । त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको छ ।

यसै गरी, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेल ब्रिज छन् । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेल ब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

भारत र चीन सरकारबाट समेत आवश्यक बेल ब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ । त्यसका लागि बेत्रावतीमा बेल ब्रिज राख्ने तयारी भइरहेको छ । बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी निकायबाट उपलब्ध गराइएका १० र निजी क्षेत्रबाट उपलब्ध १० गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण तथा यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?