© 2026
चन्द्रौटा । कहिले भूमिहीनताको पीडा, कहिले खाद्य अभावको चिन्ता कपिलवस्तुमा छ ।
जिल्लाको विजयनगरका सीमान्तकृत समुदायका लागि यी समस्या नयाँ होइनन् । तर पछिल्लो समय यता समुदायस्तरमा आधारित कार्यक्रममार्फत उनीहरूमा आत्मनिर्भर बन्ने प्रयास बढ्दै गएको छ ।
यही प्रयासको उदाहरण बनेको छ ‘खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणका लागि पैरवी’ परियोजना । कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा अन्धेरी हिल्फेको सहयोगमा सञ्चालित परियोजनाको सामाजिक परीक्षण गरिएको छ । परीक्षणमार्फत परियोजनाले समुदायमा पारेको प्रभाव, उपलब्धि र आगामी आवश्यकताबारे समीक्षा गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले परीक्षणलाई सम्बोधन गर्दै परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् । समुदायको वास्तविक आवश्यकता र हितलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्न सके प्रभाव दीर्घकालीन हुने उनको भनाइ छ ।
यस्तै विजयनगर-७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीका अनुसार परियोजनाले सीमान्तकृत तथा भूमिहीन समुदायको उत्थानसँगै महिलाको क्षमता विकासमा समेत योगदान पुर्याएको छ । महिलालाई कृषि समूहमा आबद्ध गराउँदै सीप र क्षमताको विकास गर्ने प्रयासले समुदायमा सकारात्मक परिवर्तन ल्याएको उनले बताए ।
परियोजनाले केवल खाद्य सुरक्षाको विषय उठाएको छैन, समुदायलाई आफ्नै स्रोत, सीप र क्षमतामार्फत अघि बढ्ने बाटोसमेत देखाएको छ । विशेष गरी महिला कृषि समूहको सक्रियताले परिवारको आयआर्जन र आत्मनिर्भरताको सम्भावनालाई बलियो बनाएको सरोकारवालाको भनाइ छ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्रसिंह रावलले समुदायको आवश्यकता पहिचान गरी आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । सामाजिक परीक्षणमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, सञ्चारकर्मी खगप्रसाद चापागाईँलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।