© 2026
लमही ।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोमा परी दाङका देउखुरीका ४ युवा सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ ।सम्पर्कविहीन हुनेमा राजपुर गाउँपालिका १ कठबेरुवाका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा लमही नगरपालिका ३ वनगाउँका शम्भुजीत चौधरी रहेका छन् ।
त्यसै गरि राप्ती गाउँपालिका–३, बसन्तपुर निवासी ट्रक चालक सर्वेश चौधरी सम्पर्कविहीन भएको आफन्तले बताएका छन ।
राजपुर गाउँपालिका १ कठबेरुवाका गोपाल चौधरीसँग ९७६९२१४३२८ र बुद्धिराम चौधरीसँग ९७६२०२५७०२ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपद्का कारण उनीहरू सम्पर्कविहीन भएपछि परिवार तथा आफन्तजन चिन्तित बनेका छन् । बाढी पहिरोमा दाङका अन्य स्थानीय तहका मानिसहरू पनि प्रभावित वा सम्पर्कविहीन भएको हुनसक्ने आकलन गरिएको छ ।
यसैबीच, राजपुर गाउँपालिकाका चार जना युवाले केही साताअघि लमही अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर भोटेकोशी क्षेत्रतर्फ गएको जानकारीसमेत प्राप्त भएको छ । तीमध्ये दुई जनाको अवस्थाबारे भने हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेको बताइएको छ । उनीहरूको नाम भने तत्काल खुल्न सकेको छैन ।
सम्पर्कविहीन युवाहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकाय, परिवार तथा आफन्तजनले पहल गरिरहेका छन् ।
परिवारजनले विपद्को यस कठिन घडीमा सम्पर्कविहीन युवाहरूको अवस्था यथाशीघ्र पत्ता लागोस् भन्दै सम्बन्धित निकायसँग खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।
सम्पर्कविहीन युवाहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार तथा स्थानीय प्रशासनलाई तत्काल जानकारी गरिदिन अनुरोध गरिएको छ ।