© 2026
काठमान्डौँ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई बिहीबार बिहानसम्म उपचारका लागि ल्याइएको छ ।
उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा। गोपाल सेढाईंका अनुसार अस्पतालमा ल्याइएका घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि शिक्षण अस्पताल आउन सक्ने सूचना प्राप्त भएको उनले बताए ।
सम्भावित बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले आवश्यक तयारी गरिसकेको पनि उनले जानकारी दिए ।
‘हामीले ५०–६० जना जति थप बिरामी आउन सक्ने अनुमान गरेका छौँ । त्यहीअनुसार अस्पतालको तयारी गरेका छौँ,’ प्रवक्ता डा। सेढाईंले भने ।
उनका अनुसार थप आउने घाइतेमध्ये अत्यन्त गम्भीर तथा आईसीयू आवश्यक पर्नेभन्दा सामान्य चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ ।
अस्पतालले सम्भावित बिरामीको चाप व्यवस्थापनका लागि उपचार टोली तथा आवश्यक सेवाहरू तयारी अवस्थामा राखेको जनाएको छ ।
तिब्बतबाट आएको विनाशकारी बाढीले रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहँदा घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउने क्रम पनि जारी छ । सम्पर्कविहीन भएका मानिसको खोजी गर्दै आफन्तहरू अस्पतालमा पुगेका छन् ।