Butwal Today

भोटेकोशी बाढी : बाँकेका २२ जना बेपत्ता, परिवारमा बढ्यो चिन्ता

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

नेपालगञ्ज । भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट बाँकेसँग सम्बन्धित २२ जना बेपत्ता भएको विवरण जिल्ला प्रशासन कार्यालय बाँकेमा प्राप्त भएको छ । बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि त्यहाँ रहेका आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै परिवारले प्रशासनमा जानकारी गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बेपत्ता हुनेमा सुरक्षाकर्मी, मजदुर, स्थानीय बासिन्दा तथा तीर्थयात्राका लागि गएका व्यक्तिसमेत रहेका छन् । प्राप्त विवरणअनुसार रसुवामा कार्यरत कोहलपुर नगरपालिका–१२ घर भएका सशस्त्र प्रहरी हवल्दार होमनाथ योगी, डुडुवा गाउँपालिका–६ का प्रहरी जवान सुरजकुमार मौर्य र बर्दियाको बारबर्दिया नगरपालिका–३ घर भएका प्रहरी जवान सन्तराम थारु बेपत्ता भएका छन् । यसैगरी राप्ती सोनारी गाउँपालिका–२ बाँकेका सुरेश विक, सेतुनाथ योगी, योगमाया सुनार र जानकी घर्ती पनि चाइनागेट–टिमुरे क्षेत्रबाट बेपत्ता भएको जानकारी परिवारले जिल्ला प्रशासन कार्यालयमा गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणअनुसार नेपालगन्ज उपमहानगरपालिका–२० का शेयरसिंह रोकाया, विष्णुमति रोकाया, दीपक रोकाया, अराम दमाई र अञ्जना दमाई पनि रसुवाको टिमुरे पार्किङ क्षेत्रबाट बेपत्ता भएका छन् । त्यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिका–३ स्थायी घर भई हाल कोहलपुर नगरपालिका–१२ मा बस्दै आएका वीरेन्द्र जोशी र सत्या जोशी दम्पतीसमेत बुधवार टिमुरेदेखि रसुवागढी नाकातिर गएको र बाढीपछि बेपत्ता भएको विवरण प्राप्त भएको छ ।

ठाकुरबाबा नगरपालिका–३, बर्दिया स्थायी घर भई हाल जानकी गाउँपालिका–६, बाँकेमा बस्दै आएका विष्णु भण्डारी र हरिकुमार कुश्मी रसुवा भन्सार कार्यालयमा पेन्टिङको काम गर्न गएका बेला बेपत्ता भएको प्रशासनले जनाएको छ । यस्तै कोहलपुर नगरपालिका–११ का मायादेवी थारु, सुनसरी थारु, अनिता थारु र मीना चौधरी नुवाकोटको क्रिस्पानगर –५, क्रान्तिनगर क्षेत्रबाट बेपत्ता भएको जानकारी प्राप्त भएको छ । बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन । आफन्तसँग सम्पर्क हुन छाडेपछि परिवारले प्रशासन तथा सुरक्षा निकायलाई खोजी तथा उद्धारका लागि आग्रह गरेका छन् ।

यसैबीच कैलाश मानसरोवर यात्राका क्रममा प्रभावित क्षेत्रमा पुगेका भारतको मुम्बईका सञ्जय पाटिल र नलिनी पाटिलसमेत बेपत्ता भएको विवरण प्राप्त भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचनाका आधारमा बेपत्ता व्यक्तिहरूको विवरण संकलन तथा प्रमाणीकरण गर्ने काम भइरहेको छ । सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग समन्वय गरी उनीहरूको खोजीका लागि आवश्यक पहल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?