© 2026
सल्यान । तिब्बत तथा भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ज्याला मजदुरी तथा रोजगारीका लागि पुगेका सल्यानका दर्जनाैँ नागरिकहरू बेपत्ता तथा घाइते भएका छन् ।
सल्यानका विभिन्न स्थानीय तहहरूले छुट्टाछुट्टै सार्वजनिक अपिल र सूचना जारी गर्दै आफ्ना बासिन्दाहरू बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा घाइते भएको पुष्टि गरेका छन् । स्थानीय तहहरूले बेपत्ता नागरिकहरूको तत्काल खोजी, उद्धार तथा घाइतेहरूको उपचारका लागि नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्पूर्ण सरोकारवालासँग जोडदार माग गरेका छन् ।
सबैभन्दा धेरै नागरिक प्रभावित भएको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ६ (रसुवाको टिमुरे क्षेत्रमा कार्यरत) का १३ जना नागरिक परेका छन् । जसमध्ये ३६ वर्षीय गिरिलाल बुढाथोकि र २९ वर्षीय ढाँकबिर यरी घाइते भएका छन् भने सुनिता बुढाथोकि (३५), डिला बुढाथोकि (१८), निर्मला बुढाथोकि (१६), निराजन बुढाथोकि (१४), केशब बुढाथोकि (१२), बिना यरी (२८), दिपिका यरी (५), चित्र ब. पुन (३६), पवित्रा राना पुन (३५), जितेन्द्र पुन (३) र गगन बस्नेत (२४) गरी ११ जना नागरिकहरू बेपत्ता भएका छन् ।
त्यसैगरी, कुमाख गाउँपालिकाका ७ जना नागरिक बेपत्ता रहेका छन् । रसुवागढीको तल्लो तटीय क्षेत्र तथा भोटेकोशी आसपास सडक निर्माणमा कार्यरत कुमाख वडा नं. ३ गुरुदासेका दुर्गा बहादुर राना (६०), निम प्रकास राना (४३), गणेश राना (४०), नबिन राना (२५), झ्यासे राना (५५), नन्दराम राना (२७) र चित्र बहादुर राना (२४) बेपत्ता भएका हुन्। कुमाख वडा नं. १ का खुर्सल राना र शेर बहादुर बि.क. भने परिवारको सम्पर्कमा आइसकेका छन् ।
यस्तै नुवाकोटको शान्तिबजार क्षेत्रमा डेरा गरी हाइड्रोपावरमा काम गर्दै आएका त्रिवेणी गाउँपालिका वडा नं. ५ का प्रेम महतरा, पोषण महतरा, रुपलाल बि.क., निम कुमार बि.क., लाल सिंह बि.क. र प्रकाश बि.क. गरी ६ जना नागरिकहरू सम्पर्कविहीन भएका छन् ।
बागचौर नगरपालिकाका २ जना नागरिक सम्पर्कविहीन रहेका छन् । जसमध्ये बागचौर वडा नं. ८ गैरागाउँकी ३८ वर्षीया प्रमिला बुढाथोकी र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत बागचौर वडा नं. १० पिपलनेटाका आयुष खड्का रहेका छन् ।
स्थानीय तहहरूले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
प्रहरीका अनुसार तीमध्ये कतिपय व्यक्ति परिवारको सम्पर्कमा रहेका छन् भने कतिपयसँग सम्पर्क हुन नसकेको विवरण आइरहेको छ । सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले विभिन्न स्रोत र परिवारबाट प्राप्त जानकारीका आधारमा प्रभावित क्षेत्रमा गएका जिल्लावासीको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सल्यानले प्रभावित क्षेत्रमा रहेका जिल्लावासीको यकिन विवरण सङ्कलन गर्न स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार कुन स्थानीय तह र कुन वडाका कति व्यक्ति प्रभावित क्षेत्रमा पुगेका छन्, उनीहरू के कामका लागि र कहाँ गएका हुन् तथा उनीहरूमध्ये को परिवारको सम्पर्कमा छन् र को सम्पर्कविहीन छन् भन्ने विवरण सङ्कलन भइरहेको छ।