© 2026
चन्द्रौटा । प्रजनन स्वास्थ्यका विषयमा समाजमा अझै पनि खुलेर बहस हुन सकेका छैन ।
नागरिकसँग प्रत्यक्ष सरोकोरको विषयमा सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा सरोकारवालाले जोड दिनुपर्ने बताएका छन् । लुम्बिनीमा एक कार्यक्रम बोल्दै उनीहरूले प्रजनन स्वास्थ्यका विषयवस्तुलाई सञ्चारकर्मीहरूले उठान आवश्यक रहेकोले उठान गर्नुपर्ने बताएका हुन् ।
कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रले कपिलवस्तु, रुपन्देही र नवलपरासीमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना बढाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको जनाइएको छ ।
केन्द्रका कार्यकारी निर्देशक मन्दिप सिंहले प्रजनन स्वास्थ्य नागरिकको प्रत्यक्ष सरोकारको विषय भए पनि पछिल्लो समय मिडियामा यसले पर्याप्त स्थान नपाएको बताए । “सही सूचना समयमा नपाउँदा नागरिक भ्रममा पर्न सक्छन्, त्यसैले मिडियाले नियमित रूपमा यस्ता विषय उठाउनुपर्छ,” उनले भने ।
केन्द्रका अध्यक्ष रामेन्द्र सिंहले स्वास्थ्यका विषयलाई समाचारको प्राथमिकतामा राख्दै नागरिकलाई सेवा, अधिकार र सावधानीबारे जानकारी गराउन आग्रह गरे । वरिष्ठ पत्रकार मनोज पौडेलले प्रजनन स्वास्थ्यलाई समाचारको ‘सिजनल’ विषय नभई निरन्तर बहसको विषय बनाउनुपर्ने बताए ।
अधिवक्ता गोमती सुनार (दीपा) ले प्रजनन स्वास्थ्यलाई स्वास्थ्यसँगै अधिकारको विषयका रूपमा बुझाउन आवश्यक रहेको बताइन् । कार्यक्रममा खगप्रसाद चापागाईँलगायतले बिहीबार सञ्चारमाध्यम, स्वास्थ्यकर्मी र सरोकारवाला निकायबिच सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।