Butwal Today

सन्धिखर्क नगरका १६८ कर्मचारीले एक हप्ताको तलब बाढीपीडितका लागि सहयोग गर्ने

१० भाद्र २०८३, बुधबार
अ+
अ-

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका १ सय ६८  कर्मचारीले  बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाकालागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।

भोटेकोसी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठुलो भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले  राहत तथा पुनः स्थापनाका लागि  आफ्ना कर्मचारीको एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको  प्रमुख प्रशासकीय प्रमोद खनालले बताए ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालको अध्यक्षतामा बसेको बैठकले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाको कार्यमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको तलबबाट एक हप्ता बराबरको रकम कट्टा गरी विपद् राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो

नगरपालिको प्रशासकीय कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थालगायत मातहतका कार्यालयमा कार्यरत १ सय ६८ जना  कर्मचारीहरूबाट उक्त रकम सङ्कलन गरि सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका आइटी प्रमुख विशाल महतले बताए । १ सय ६८ कर्मचारीले एक हप्ताको तलब बराबरको रकम सहयोग गर्दा झन्डै १५ लाख रुपैयाँ सहयोग हुने भएको छ ।

नगरपालिकाले भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठुलो भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै बाढीका कारण घरबारविहीन, प्रभावित तथा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्बन्धित निकायबाट तत्काल प्रभावकारी राहत, उद्धार तथा पुनः स्थापनाको कार्य अघि बढाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?