© 2026
लमही । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ ।
पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो ।
सम्झौतामा मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नवीन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लुम्बिनी प्रदेशमा क्रियाशील १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३र०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पत्रकारहरूको सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो ।
समाचार संकलन, स्थलगत रिपोर्टिङ तथा विपद्, दुर्घटना र जोखिमयुक्त क्षेत्रमा पुगेर काम गर्नुपर्ने भएकाले पत्रकारिता पेशामा दुर्घटनाको जोखिम रहने गरेको छ । यही जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
बीमा कार्यक्रमले पत्रकारलाई पेशागत कार्यका क्रममा हुन सक्ने दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिमा राहत पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार बीमित पत्रकारले दुर्घटनाबाट क्षति व्यहोरेको अवस्थामा तोकिएको बीमा रकम तथा प्रचलित बीमा व्यवस्थाअनुसारका सुविधा प्राप्त गर्नेछन् ।
प्रदेश सरकारले पत्रकारहरूको पेशागत सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।