© 2026
बर्दिया ।
बर्दियामा करिब ६ महिनादेखि एन्टी रेबिज भ्याक्सिन अभाव हुँदा कुकुरलगायत जनावरको टोकाइमा परेका बिरामीले सास्ती भोग्नुपरेको छ । जिल्लाका स्वास्थ्य संस्थामा भ्याक्सिन अभाव भएपछि बिरामीहरू खोप लगाउन बाहिरी जिल्ला जान बाध्य भएका छन् ।
कुकुर, बिरालो तथा जङ्गली जनावरको टोकाइबाट रेबिज सर्न सक्ने भएकाले समयमै एन्टी रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ । रेबिजका लक्षण देखिएपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप लगाउनुपर्ने भए पनि भ्याक्सिन अभावका कारण जोखिम बढेको बर्दिया अस्पतालका मेडिकल अधिकृत डा। भरत भण्डारीले बताए ।
सरकारले एन्टी रेबिज भ्याक्सिनलाई अत्यावश्यक औषधिका रूपमा राख्दै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, सरकारले पर्याप्त मात्रामा भ्याक्सिन नपठाउँदा बर्दियामा चैतको पहिलो सातादेखि नै अभाव रहेको डा। भण्डारीले बताए । उनका अनुसार लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले अहिलेसम्म अस्पताललाई भ्याक्सिन उपलब्ध गराएको छैन ।
बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिकाले भने आन्तरिक बजेटबाट एन्टी रेबिज भ्याक्सिन खरिद गरी आफ्ना स्वास्थ्य संस्थामा अभाव हुन दिएका छैनन् ।
बर्दिया अस्पतालमा कुकुरको टोकाइपछि एन्टी रेबिज भ्याक्सिन लगाउन आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि मागअनुसार भ्याक्सिन उपलब्ध नहुँदा कतिपय बिरामी खोप नलगाई फर्किनुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताए ।
‘एन्टी रेबिज भ्याक्सिन लगाउन आउने बिरामीको सङ्ख्या बढेको छ । तर, लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप पठाएको छैन । जसका कारण बिरामी खोप नलगाई फर्किनुपर्ने बाध्यता छ,’ उनले भने ।
प्रत्येक वर्ष जनावरको टोकाइपछि स्वास्थ्य संस्थामा आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि सरकारले मागअनुसार पर्याप्त भ्याक्सिन उपलब्ध नगराउँदा बर्दियामा हरेक वर्ष खोप अभाव हुने गरेको अस्पतालले जनाएको छ । खोप अभावका कारण जनावरको टोकाइमा परेका सयौँ मानिस जोखिममा पर्ने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।