© 2026
महेन्द्रनगर । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय गौरसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
से ३ प ५२७४ नम्बरको मोटरसाइकल बेदकोट नगरपालिका–९ का ४० वर्षीय गगनसिंह महराले चलाएका थिए । मोटरसाइकल अनियन्त्रित भई पैदल यात्री डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नासमेत घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते ठगुन्नाको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
थापाका अनुसार मोटरसाइकल चालक गगनसिंह र मृतक गौरसिंह बाबु–छोरा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।