बर्दिया । साउन महिनामा बर्दिया प्रहरीले लागू औषध ब्राउन सुगरसहित २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले एक महिनाको अवधिमा ३ सय ५७ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगरसहित २१ जनालाई पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रणका लागि प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी तथा चेकजाँचमा कडाइ गरेको जनाएको छ । सीमावर्ती क्षेत्रबाट प्रहरीले दैनिक जसो लागू औषध सेवनकर्ता तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ ।
यसै गरी, विभिन्न कसुरमा अदालतबाट सजाय तोकिएर फरार रहेका १९ जना फरार प्रतिवादीलाई पनि साउन महिनामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका १९ जनाबाट रु। ६ लाख ४२ हजार ५ सय जरिवाना तथा १२ वर्ष १ महिना १ दिन कैद सजाय असुलउपर गरिएको प्रहरीले जनाएको छ ।
साउन महिनामा जिल्लामा ३० जना मानिस हराएका थिए । तीमध्ये २३ जनालाई प्रहरीले सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको जनाएको छ ।
त्यस्तै, भन्सार छली अवैध रूपमा ल्याइएका रु। २८ लाख २८ हजार ७ सय ५० बराबरका सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
एक महिनाको अवधिमा जघन्य अपराधका ७, गम्भीर अपराधका ५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १० र आर्थिक अपराधसम्बन्धी ८ सहित कुल ८० वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ७३ वटा मुद्दा फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ३९ वटा सवारीसाधनलाई कारबाही गरी रु। ३ लाख ६१ हजार ५ सय राजस्व सङ्कलन गरिएको छ ।
प्रहरी र समुदायबिचको सहकार्यलाई थप मजबुत बनाउन समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत ७५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा २ हजार ८ सय ६१ जना सर्वसाधारण लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले साउन महिनाको प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।