© 2026
लमही । व्यस्त जीवनशैली, बदलिँदो पारिवारिक संरचना र आधुनिकताको बढ्दो प्रभावसँगै बुवा,आमाप्रतिको सन्तानको जिम्मेवारी र कर्तव्यसमेत बिर्संदै गएको गुनासो सुनिन थालेको छ ।
वृद्ध अवस्थामा पुगेका आमाबुवाको सहारा बन्नुपर्ने सन्तान नै उनीहरूबाट टाढिँदै जाने र कतिपय अभिभावक वृद्धाश्रममा आश्रित हुनुपर्ने अवस्था बढ्दै गएको छ ।
यही बदलिँदो सामाजिक परिवेशमा एउटा पुरानो पात्रलाई नयाँ पुस्तासामु उभ्याइएको छ श्रवणकुमार । दाङको लमहीस्थित जैविक पार्कमा अहिले श्रवणकुमारको प्रतिमा राखिएको छ । कश्यप स्वर्गद्वारी समाज लमहीले आफ्नै लगानीमा स्थापना गरेको यो प्रतिमा केवल पार्कको सौन्दर्य बढाउने उद्देश्यले राखिएको होइन।
यसभित्र एउटा सामाजिक सन्देश लुकेको छ ,जसमा आफ्ना बुवा,आमालाई नबिर्सौं, उनीहरूप्रतिको कर्तव्य पूरा गरौं ।’ श्रवणकुमार, जसको नामै आमाबुवाप्रतिको समर्पणको प्रतीक हो
हिन्दु धार्मिक तथा पौराणिक कथामा श्रवणकुमारलाई आमाबुवाप्रतिको सेवा भाव र समर्पणका लागि सम्झिने गरिन्छ । दृष्टिविहीन वृद्ध आमाबुवालाई तीर्थयात्रा गराउने उनको इच्छा थियो । आमाबुवालाई काँधमा बोकेर तीर्थयात्रामा हिँडेको कथाले उनलाई आदर्श सन्तानका रूपमा स्थापित गरेको छ ।
श्रवणकुमारको कथा केवल धार्मिक आख्यानका रूपमा मात्र होइन, सन्तानले आफ्ना अभिभावकप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी, सेवा, माया र सम्मानको प्रतीकका रूपमा पनि लिइन्छ ।
आजको पुस्ता व्यस्त छ । पढाइ, रोजगारी, व्यवसाय र आधुनिक जीवनशैलीका कारण परिवारसँग बिताउने समय घट्दै गएको छ । कतिपय अवस्थामा एउटै घरमा बसेर पनि परिवारका सदस्यबिच भावनात्मक दूरी बढिरहेको छ । यस्तो अवस्थामा श्रवणकुमारको कथा नयाँ पुस्ताका लागि झनै सान्दर्भिक बनेको कश्यप समाज लमहीका अध्यक्ष सञ्जय गुप्ता बताउँछन् ।
“पार्कमा आउने मानिसमध्ये धेरैजसो युवा–युवती हुन्छन् । उनीहरूले श्रवणकुमारको प्रतिमा देख्दा कम्तीमा एक पटक आफ्ना बुवा,आमालाई सम्झुन् र उनीहरूप्रतिको आफ्नो कर्तव्यबारे सोचुन् भन्ने उद्देश्यले प्रतिमा स्थापना गरेका हौँ,” गुप्ताले भने ।
उनका अनुसार पछिल्लो समय वृद्ध आमाबुवा बुढ्यौलीमा आफ्नै सन्तानको साथ र सहारा पाउन नसकी वृद्धाश्रममा बस्नुपर्ने अवस्था देखिन थालेको छ । यस्तो अवस्थालाई न्यूनीकरण गर्न सामाजिक चेतना आवश्यक भएकाले श्रवणकुमारको प्रतिमामार्फत सन्देश दिन खोजिएको उनले बताए ।
जैविक पार्क घुम्न आउनेका लागि श्रवणकुमारको प्रतिमा अब एउटा दृश्य मात्र रहने छैन । पार्कमा रमाइलो गर्न पुगेका युवायुवतीले प्रतिमा देख्दा एउटा प्रश्नसमेत सामना गर्नुपर्नेछ ‘मैले आफ्ना बुवा,आमाका लागि के गरिरहेको छु ? यही प्रश्न नै प्रतिमा स्थापनाको मूल उद्देश्य हो ।
आधुनिक समाजमा अभिभावकले सन्तानको भविष्यका लागि जीवनभर सङ्घर्ष गर्छन् । सन्तान हुर्काउँछन्, पढाउँछन्, सक्षम बनाउँछन् र आफ्नो खुसीभन्दा सन्तानको खुसीलाई प्राथमिकता दिन्छन् । तर जब त्यही सन्तानको सहाराको आवश्यकता अभिभावकलाई पर्छ, कतिपय बुवा,आमा एक्लिन बाध्य हुन्छन् ।
सो प्रतिमाको लमही नगरपालिका मेयर जोगराज चौधरी सनिवार उद्घाटन गरेका छन् । उनले उद्घाटन गर्दै भने “बुवा–आमाको सेवा कुनै बोझ होइन, जिम्मेवारी र सम्मान हो ।”
श्रवणकुमारको प्रतिमा अनावरण गर्दै लमही नगरपालिकाका नगरप्रमुख चौधरीले समाजमा नैतिक शिक्षा र संस्कार कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले श्रवणकुमारको प्रतिमाले अग्रजप्रति सम्मान र सन्तानको कर्तव्य बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । धार्मिक तथा पौराणिक पात्रलाई सामाजिक चेतनासँग जोडेर सार्वजनिक स्थानमा राखिनु सकारात्मक काम भएको उनको भनाइ थियो ।
कार्यक्रममा लमही नगरपालिका उपमेयर लक्ष्मी योगीले श्रवणकुमारको प्रतिमा स्थापना गर्ने कार्यलाई समाजका लागि अनुकरणीय र उत्कृष्ट प्रयासका रूपमा प्रशंसा गर्नु पर्ने बताइन् । समाज बदलिँदै जाँदा प्रविधि र जीवनशैली बदलिन सक्छन्, तर आमाबुवाप्रतिको सन्तानको कर्तव्य बदलिनु हुँदैन दाङ नागरिक समाजका संयोजक निम बहादुर थापा भने ।
यही चेतना जगाउने उद्देश्यले राखिएको श्रवणकुमारको प्रतिमा लमहीको पार्कमा एउटा सुन्दर आकृतिभन्दा बढी, समाजलाई आफ्नै संस्कारतर्फ फर्काउने एउटा मौन पाठशाला बन्न सक्ने बरिष्ठ पत्रकार राधेश्याम गुप्ता बताउँछन् ।