© 2026
बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि करिब चार करोड रुपियाँ खर्चेर निर्माण गरिएको संरचना बिक्री गर्न नपाएपछि पञ्चकन्या समूहले भत्काउन थालेको छ ।
पञ्चकन्या एस.एस. एक्स्पोर्ट प्रालिले सेजभित्र निर्माण गरेको उद्योग सञ्चालन हुन नसकेपछि संरचना अर्को उद्योगीलाई बिक्री गरेर लगानीको केही हिस्सा जोगाउन खोजेको थियो । केही उद्योगीले खरिदमा चासोसमेत देखाए पनि सेजको कानुनी व्यवस्थाका कारण संरचना हस्तान्तरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार संरचना यथास्थितिमा बिक्री गर्न पाए करिब तीन करोड रुपियाँ प्राप्त हुने अनुमान थियो । तर भत्काएर बिक्री गर्दा करिब २० लाख रुपियाँ मात्र आउने भएकाले कम्पनीलाई करिब तीन करोड ८० लाख रुपियाँ नोक्सानी हुने अवस्था आएको छ ।
“आफ्नै लगानीमा बनाएको संरचना बिक्री गरेर लगानीको केही हिस्सा जोगाउन खोजेका थियौँ । तर कानुनी व्यवस्थाका कारण सम्भव भएन,” उनले भने, “अन्ततः संरचना आफैँ भत्काउनुपर्ने अवस्था आएको छ ।” पञ्चकन्याले २०७५ सालमा सेजका चार वटा प्लट भाडामा लिएर उद्योग सञ्चालनका लागि संरचना निर्माण गरेको थियो ।
करिब चार करोड रुपियाँ लगानीमा निर्माण भएको उद्योगले २०७७ चैतदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । दैनिक ४० टन उत्पादन क्षमता रहेको उद्योगले भारतमा स्टिलजन्य सामग्री निर्यातसमेत सुरु गरेको थियो ।
तर भारतमा स्टिलजन्य वस्तुको निर्यातमा अवरोध आएपछि उद्योग प्रभावित भयो । सेजभित्र उत्पादित वस्तु आन्तरिक बजारमा बिक्री गर्नसमेत प्रतिबन्ध रहेकाले समस्या थपिएको कम्पनीको भनाइ छ । व्यवसाय सङ्कटमा परेपछि करिब ७५ प्रतिशत कर्मचारी कटौती गर्नुपरेको थियो । अन्ततः २०८२ भदौमा कम्पनी सेजबाट बाहिरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उज्ज्वल कुमार कसजूले सेजका यस्ता प्रावधानले निजी क्षेत्रको लगानी जोखिममा परेको बताए । उनले भने, “उद्योग बन्द हुँदा संरचना अर्को लगानीकर्तालाई हस्तान्तरण गर्न सकिने व्यवस्था हुनुपर्छ ।”
पञ्चकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उद्योग तथा लगानीसम्बन्धी कानुन निर्माण गर्दा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा उद्योग वाणिज्य सङ्घले पनि सेजको नियमका कारण करोडौँको लगानी नष्ट हुने अवस्था आउनु दुःखद भएको जनाएका छन् । सेज भैरहवाका कार्यालय प्रमुख सवुद डुम्रेले कानुनी प्रक्रियाका कारण संरचना बिक्रीमा समस्या भएको बताए । उनले कार्यालयका तर्फबाट आवश्यक सहजीकरण भइरहेको जानकारी दिए ।
सेजको उद्देश्य निर्यात प्रवर्द्धन गर्दै औद्योगिक लगानी आकर्षित गर्नु हो । तर उद्योग बन्द भएपछि निजी लगानीमा निर्माण भएका संरचना अर्को उद्योगीलाई हस्तान्तरण गर्न नसक्दा भत्काएर न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्थाले सेजको लगानी वातावरणमाथि प्रश्न उठाएको उद्योगीहरूको भनाइ छ ।