© 2026
बारा ।
बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन् ।
कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरछेउबाट बेपत्ता भएकी थिइन् । बालिका हराएको जानकारी पाएपछि परिवारले राति करिब ८ः४५ बजे प्रहरीलाई खबर गरेको थियो ।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमाण्डमा प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो ।
बालिकाको खोजीका लागि नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट प्रहरी सहायक निरीक्षक विमल पौडेलको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको थियो । नेपाली सेनाको रिपुमर्दन गण र सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण, बाराबाट समेत टोली परिचालन गरी रातभर सम्भावित स्थानमा खोजी गरिएको थियो ।
यसै क्रममा आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६, सिसवा महेशपुर क्षेत्रमा सडक किनारको नालामा बालिका रोइरहेको अवस्थामा स्थानीय ४५ वर्षीया सल्मा नेसाले फेला पारेकी थिइन । उनले बालिकालाई उद्धार गरी घरमा ल्याएर आफन्तलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार बालिका फेला परेको स्थान उनको घरबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्छ ।
छोरी सकुशल भेटिएपछि पिता मुकेशकुमार मण्डलले खुसी व्यक्त गर्दै खोजीमा खटिएका प्रहरी तथा सुरक्षा निकायलाई धन्यवाद दिएका छन् । उनले बालिका रातभर कहाँ र कसरी उक्त स्थानसम्म पुगिन् भन्नेबारे आफूहरू अन्योलमा रहेको बताए ।
बालिका फेला परेपछि आवश्यक जानकारी लिएर स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । स्वास्थ्य परीक्षणपछि बालिकाको अवस्था सामान्य रहेको जनाइएको छ ।
बालिका हराउँदा गहुँगोरो वर्ण, करिब दुई फिट उचाइ तथा ‘बोलबम’ लेखिएको गन्जी र हाफ पाइन्ट लगाएकी थिइन् । बारा प्रहरीले उनी स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थाकी रहेको जनाएको छ ।
बालिका सकुशल फेला परेपछि खोजीमा परिचालित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीहरू आ–आफ्नो कार्यालय फर्किएका छन् । बालिका घरबाट कसरी बाहिरिइन् र उक्त स्थानसम्म कसरी पुगिन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।