Butwal Today

गाउँमा सुत्केरी गृह, रोजाइमा सहरका अस्पताल

७ भाद्र २०८३, आइतबार
अ+
अ-

पाल्पा । पूर्वखोला गाउँपालिका–विरकोटकी २४ वर्षीया माया रानाले पहिलो सन्तान जन्माउन आफ्नै गाउँको सुत्केरी गृह रोजिनन् । गाउँमा सुत्केरी सेवा उपलब्ध हुँदाहुँदै उनी तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुगिन् ।

गाउँको स्वास्थ्य संस्थाभन्दा सहरका अस्पतालमा थप सुविधा र विशेषज्ञ सेवा पाइने भएकाले अस्पताल रोजेको उनले बताइन् ।
रिब्दीकोट गाउँपालिका–देउरालीकी ३० वर्षीया एक महिलाले पनि दोस्रो सन्तान जन्माउन गाउँको सुत्केरी गृहभन्दा लुम्बिनी मेडिकल कलेज रोजिन् ।

नजिकै सुत्केरी सेवा उपलब्ध भए पनि आमा र बच्चाको सुरक्षाका साथै आवश्यक अन्य सुविधा उपलब्ध हुने भएकाले मेडिकल कलेज पुगेको उनको भनाइ छ ।

यी दुई घटना पाल्पाका ग्रामीण क्षेत्रमा रहेका सुत्केरी गृहको पछिल्लो अवस्थाको प्रतिनिधि उदाहरण हुन् । गाउँमा स्वास्थ्य संस्था र सुत्केरी सेवा विस्तार भए पनि गर्भवती महिलाको रोजाइ भने बिस्तारै ठुला तथा सुविधा सम्पन्न अस्पतालतर्फ बढ्दै गएको छ ।

तानसेन नगरपालिकाको अर्गलीमा सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्था स्थापना भएको डेढ दशक पुगिसकेको छ । कुनै समय छिमेकी जिल्लासम्मका गर्भवती महिलालाई सेवा दिँदै आएको उक्त संस्थामा पछिल्ला वर्षमा सुत्केरी हुनेको सङ्ख्या घट्दै गएको छ ।

सडक सञ्जाल विस्तार, सूचना तथा सञ्चारको पहुँच र स्वास्थ्यसम्बन्धी चेतना बढ्दै जाँदा गर्भवती महिलाले आफूलाई उपलब्ध विकल्पमध्ये सुविधा सम्पन्न अस्पताल रोज्न थालेका छन् । विशेषज्ञ चिकित्सक, आकस्मिक उपचार तथा जटिल अवस्था व्यवस्थापनको सुविधा हुने भएकाले तानसेन, बुटवल र रामपुरका ठुला स्वास्थ्य संस्थामा जाने क्रम बढेको स्थानीयको भनाइ छ ।

निस्दी गाउँपालिका–मित्याल मुढाबासका तासबहादुर कालुङ पुरानो पुस्ताका स्थानीय हुन् । उनका अनुसार केही दशक अघिसम्म ग्रामीण क्षेत्रमा गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गराउने चलन थिएन । अधिकांश महिलाले घरमै सन्तान जन्माउँथे ।

पहिले महिलाको स्वास्थ्यप्रति त्यति ध्यान दिइँदैनथ्यो। घरमै बच्चा जन्माउने चलन थियो,’ उनले भने, ‘स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम सञ्चालन हुन थालेपछि गर्भावस्थामा स्वास्थ्य परीक्षण गर्ने र सुत्केरी हुन स्वास्थ्य संस्थामै जाने बानी विकास भयो ।’

सरकारले गाउँ–गाउँमा स्वास्थ्य संस्था विस्तार गर्नुका साथै सुत्केरी सेवा उपलब्ध गराएपछि मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको उहाँको अनुभव छ । स्वास्थ्य संस्थामा प्रसूति सेवा विस्तार भएपछि घरमै हुने प्रसूतिको जोखिम घटेको स्थानीय बताउँछन् ।

तर, स्वास्थ्य संस्था पुगेपछि पनि सबै गर्भवती त्यहीँ सुत्केरी हुन भने चाहँदैनन् । ग्रामीण क्षेत्रमा सुविधा उपलब्ध भए पनि भौगोलिक कठिनाइ र विशेषज्ञ सेवाको अभावका कारण केही परिवार सुत्केरी हुनुअघि नै तानसेन, बुटवल, रामपुर तथा अरूणखोलालगायतका स्थानमा डेरा लिएर बस्ने गरेका छन् ।

तानसेन बजारसँग जोडिएको बगनासकाली गाउँपालिकाका सबैजसो वडामा स्वास्थ्य संस्था तथा सुत्केरी सेवा उपलब्ध छन् । सडक सञ्जालले गाउँलाई बजारसँग जोडेको छ । तर त्यहाँका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या भने न्यून छ ।

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराज अधिकारीका अनुसार सडक पहुँच विस्तारसँगै गर्भवती महिलाले तानसेनका सुविधा सम्पन्न अस्पताल रोज्ने क्रम बढेको छ ।

‘एक दशक अघिसम्म मदनपोखरा स्वास्थ्य केन्द्र जिल्लामै अग्रणी थियो,’ उनले भने, ‘माडी उपत्यकाबाहेक झडेवा, गोठादी, रहवासलगायतका ठाउँबाट समेत गर्भवती महिला सुत्केरी हुन आउँथे। दैनिक चार जनासम्म सुत्केरी हुने अवस्था थियो ।’
अहिले भने उक्त स्वास्थ्य केन्द्रमा महिनामा चार–पाँच जना मात्र सुत्केरी हुने गरेको उनी बताउँछन् ।

जन्मदरमा आएको कमी र सडकसँगै एम्बुलेन्सको पहुँच विस्तार हुनु पनि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी सङ्ख्या घट्नुको कारण रहेको उनको भनाइ छ । स्वास्थ्य संस्थाका प्रमुख झपेन्द्र घिमिरेका अनुसार पहिले गाउँबाटै सुत्केरी सेवा लिनेको सङ्ख्या धेरै भए पनि अहिले एम्बुलेन्सको सहज पहुँचका कारण गर्भवतीलाई तानसेन तथा बुटवलका ठुला अस्पतालमा लैजाने क्रम बढेको छ ।

पाल्पा जिल्लामा सरकारी स्वास्थ्य संस्थाअन्तर्गत ४४ वटा सुत्केरी गृह सञ्चालनमा छन् । तर तीमध्ये अधिकांशमा वार्षिक सुत्केरी हुने महिलाको सङ्ख्या निकै न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर वलीका अनुसार पछिल्लो एक वर्षमा पाल्पामा करिब दुई हजार आठ सय बालबालिकाको जन्म भएको छ । तीमध्ये दुई हजार चार सय ७९ जना युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा जन्मिएका हुन् । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा भने जम्मा तीन सय २१ जना सुत्केरी भएका छन् ।

उनका अनुसार २० वटा स्वास्थ्य संस्थामा वार्षिक पाँच जनाभन्दा कम, १० वटामा १० जनाभन्दा कम र छ वटामा १५ जनाभन्दा कम सुत्केरी हुने गरेका छन् । पाँच वटा स्वास्थ्य संस्थामा मात्र वार्षिक १५ जनाभन्दा बढी सुत्केरी हुने गरेको तथ्याङ्क छ ।

वलीका अनुसार वार्षिक १५ जनाभन्दा कम सुत्केरी हुने स्वास्थ्य संस्थामा सेवा सञ्चालनसँगै उपकरण तथा स्वास्थ्यकर्मीको दक्षता कायम राख्न चुनौती हुन सक्छ । ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी सेवा विस्तार गर्न राज्यले ठुलो लगानी गरेको भए पनि त्यसको उपयोग भने अपेक्षाअनुसार हुन सकेको छैन ।

पुराना स्वास्थ्यकर्मी गोविन्द भट्टराईका अनुसार विगतमा गाउँमा जन्मदर उच्च हुँदा सुत्केरी सेवा माग पनि बढी थियो । अहिले जन्मदर घट्नु र सुविधा सम्पन्न अस्पतालप्रति आकर्षण बढ्नुले ग्रामीण सुत्केरी गृहको उपयोग घटेको हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधिकहरूका अनुसार ग्रामीण स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी भए पनि सम्भावित जटिल अवस्थालाई व्यवस्थापन गर्नुभन्दा ठुला अस्पतालमा पठाउने प्रवृत्ति बढेको छ । यसले ग्रामीण स्वास्थ्य संस्थाको प्रभावकारिता माथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

सडक र सूचना प्रविधिको पहुँचले ग्रामीण बस्तीलाई सहरसँग नजिक बनाएको छ । स्वास्थ्यसम्बन्धी चेतना बढेसँगै गर्भवती महिला र परिवारले प्रसूतिको सुरक्षित विकल्प खोज्न थालेका छन् ।

विशेषज्ञ चिकित्सक, शल्यक्रिया तथा आकस्मिक उपचारको सुविधा भएका कारण तानसेन र बुटवलका ठुला अस्पताल उनीहरूको प्राथमिकतामा पर्ने गरेका छन् ।

ग्रामीण क्षेत्रमा सुत्केरी गृह स्थापना गरेर सेवा पु¥याउनु राज्यको महत्त्वपूर्ण लगानी हो । तर सेवा केन्द्रसम्म मात्र पुगेर त्यसको उपयोग सुनिश्चित हुँदैन । पर्याप्त जनशक्ति, उपकरण, विशेषज्ञ परामर्श, आकस्मिक व्यवस्थापन र स्थानीय समुदायको विश्वास कायम गर्न सके मात्र गाउँमा स्थापना गरिएका सुत्केरी गृह प्रभावकारी बन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?