© 2026
काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण र यसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि यसको जोखिमप्रति सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशाला परीक्षणबाट जापनिज इन्सेफलाइटिस पुष्टि भएका बिरामी भेटिएका छन् ।
महाशाखाले आज जारी गरेको विज्ञप्तिमा पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापनिज इन्सेफलाइटिसविरुद्धको ‘जेई खोप’ नलगाएको जनाएको छ । हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैले जेई खोप नलगाएको पाइएको छ ।
जेईका बिरामी सबैभन्दा बढी झापामा १० जना रहेका छन् । कैलाली र मोरङमा सात सात, सप्तरी र कञ्चनपुरमा छरछ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँचरपाँच जना बिरामी भेटिएका छन् ।
मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत जेई पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
जापनिज इन्सेफलाइटिस मुख्यतः सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । स्वास्थ्य सेवा विभागका अनुसार धानखेत तथा सुँगुरपालन गरिने क्षेत्रमा बसोबास गर्ने व्यक्तिमा यसको सङ्क्रमण बढी देखिने गरेको छ ।
सङ्क्रमित जनावर, जस्तै सुँगुर, बङ्गुर तथा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ । जेई सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने तथा एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्याङ्क रहेको विभागले जनाएको छ ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार पुष्टि भएका ८० बिरामीमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन् । जेईका कारण भएको मृत्युमध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ । यस वर्ष हालसम्म पुष्टि भएका ८० बिरामीमा ४३ पुरुष र ३७ महिला छन् ।
जापनिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने भन्दै स्वास्थ्य सेवा विभागले खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
सरकारले १२ महिनाको उमेरमा बालबालिकालाई जेई खोप लगाउने गरेको छ । छुटेको अवस्थामा पाँच वर्षको उमेरसम्म खोप लगाउन सकिने व्यवस्था रहेको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जापनिज इन्सेफलाइटिसबाट बच्न खोप अनिवार्य रहेको बताउँदै खोप लगाउन छुटेका बालबालिकालाई यथाशीघ्र खोप लगाउन आग्रह गरेका छन् ।