Butwal Today

पहिरोले विभिन्न सडक अवरुद्ध

६ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।  वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटको टोखा–छहरे सडक खण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका –२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसै गरी, रोल्पा र पाल्पाका दुई प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको हो ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?