Butwal Today

कतारमा बृहत् रक्तदान, १२० नेपालीले गरे रक्तदान

६ भाद्र २०८३, शनिबार
अ+
अ-

दोहा, कतार ।  कतारमा क्रियाशील सात वटा प्रदेश समन्वय परिषद्को संयुक्त आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश’ भन्ने नारासहित शुक्रबार कतारको सरकारी हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित कार्यक्रममा १२० जना नेपालीले रक्तदान गरेका छन् ।

रक्तदानलाई मानवीय तथा परोपकारी कार्यका रूपमा अघि बढाइएको कार्यक्रममा सहभागी सबै रक्तदातालाई प्रशंसा पत्र प्रदान गर्दै आयोजकले धन्यवाद व्यक्त गरेको थियो ।

अपेक्षा भन्दा उल्लेखनीय सहभागिता रहेको रक्तदान कार्यक्रममा नेपाली रक्तदाता सङ्घ कतारका अध्यक्ष छविलाल भट्टराईका अनुसार रक्तदान गर्न पुगेका करिब दुई दर्जन व्यक्ति व्यवस्थापकीय समस्याका कारण रक्तदान  नगरी फर्किनुपरेको उनले बताए।

भट्टराईले अन्य देशका समुदायले आयोजना गर्ने रक्तदान कार्यक्रमको तुलनामा नेपाली समुदायले आयोजना गर्दा हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरको व्यवस्थापन पक्ष कमजोर देखिने गरेको गुनासो समेत गरे ।

‘रक्तदान गर्न आउनेको सङ्ख्या अपेक्षाभन्दा धेरै थियो । तर व्यवस्थापनको कमजोरीका कारण कतिपयले रक्तदान गर्न नपाएको र आगामी दिनमा हुने रक्तदान कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरको व्यवस्थापन पक्षसँग यस विषयमा छलफल गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घसंस्था तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सात वटा प्रदेश समन्वय परिषद्को संयुक्त आयोजनामा भएको कार्यक्रमलाई नेपाली रक्तदाता सङ्घ कतारले समन्वय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?