Butwal Today

देशभर बदलीसँगै वर्षा, ४ प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

६ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।  हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोसी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसै गरी, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

कोसी र बागमती प्रदेशका पहाडी तथा तराई भेग र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम हुन सक्ने तथा  ती क्षेत्रमा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने जनाउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै  महाशाखाबाट जारी हुने मौसमसम्बन्धी  सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?