Butwal Today

सल्यानको हरियो सुन

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

सल्यान ।  कपुरकोटको बेमौसमी ताजा तरकारी, बागचौर र छत्रेश्वरीका सुन्तला तथा किवि, मालनेटाको अदुवा तथा विभिन्न पालिकामा उत्पादन हुने बेसार, भटमास, बदाम, अलैँची सल्यानको पहिचान हुन् ।

जिल्लाका विभिन्न गाउँमा किसानको मिहेनतबाट उत्पादन भएका कृषिजन्य वस्तुले यहाँका स्थानीय बजार मात्र भरिएका छैनन्, देशका ठुला सहरसम्मका भान्सामा पनि स्वाद दिइरहेका छन् । किसानले खेतबारीमा उत्पादन गरेका यिनै कृषि वस्तुको निर्यातबाट सल्यानमा वार्षिक अरबौँ रुपैयाँ भित्रिने गरेको छ ।

कृषि विकास कार्यालय सल्यानको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार कृषिजन्य उत्पादनको कारोबारबाट एक अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको हो । एक वर्षमा जिल्लाबाट ठुलो परिमाणमा विभिन्न कृषिजन्य वस्तु बाहिरी जिल्लामा निकासी भएका छन् । सल्यानबाट बाहिरिने कृषि उपजमा ताजा तरकारी सबैभन्दा अगाडि छ ।

आर्थिक वर्ष २०८२/०८३ मा मौसमी तथा बेमौसमी गरी आठ हजार ४८७ मेट्रिक टन ताजा तरकारी जिल्ला बाहिर गएको छ । यसबाट किसानले ४९ करोड ७६ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

तरकारीपछि एक वर्षमा आठ हजार ४६५ मेट्रिक टन अदुवा जिल्लाबाट निकासी भएको छ। अदुवाको बिक्रीबाट मात्रै ४० करोड २० लाख ८७ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।
फलफूलतर्फ पनि सल्यानको उत्पादन बाहिरी बजारमा राम्रोसँग स्थापित हुँदै गएको देखिन्छ ।

सुन्तला, कागती र किवी गरी चार हजार ५८४ मेट्रिक टन फलफूल निकासी हुँदा ३९ करोड ९२ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आठ हजार २५० मेट्रिक टन आलु बिक्रीबाट २३ करोड ५० लाख ३० हजार रुपैयाँ, एक हजार ५५० मेट्रिक टन मकै तथा बीउबाट चार करोड ९६ लाख रुपैयाँ र तीन लाख २५ हजार ५५० थान फलफूलका बिरुवा बिक्रीबाट एक करोड ९४ लाख ६६ हजार रुपैयाँ जिल्लामा भित्रिएको कार्यालयले जनाएको छ ।

यहाँबाट बेसार, अलैँची, मह, तिल, भाङ्गो, सिमी, भटमास, बदाम लगायतका कृषि उपज पनि बाहिरी बजारमा जाने गरेका छन् । ९५ मेट्रिक टन बेसारबाट २२ लाख ५० हजार, दुई मेट्रिक टन अलैँचीबाट ४० लाख ५० हजार र नौ मेट्रिक टन महबाट ९० लाख रुपैयाँ बराबरको आम्दानी भएको छ । अन्य कृषि उपज १७० मेट्रिक टन बिक्री हुँदा २० लाख १० हजार रुपैयाँ बराबरको रकम जिल्लामा भित्रिएको कार्यालय प्रमुख आचार्यले बताए ।

यहाँ उत्पादन भएको तरकारी, अदुवा, आलु, फलफूल, बीउ विजन जस्ता कृषि वस्तु दाङ, बुटवल, नेपालगन्ज, कैलाली, धनगढी, सुर्खेत, पोखरा, काठमाडौँ लगायतका सहरमा पुग्ने गरेका छन्। जिल्लाका गाउँमा उत्पादन हुने कृषि उपजले यसरी बाहिरी बजारसँग जोडिएर किसानको आम्दानीको स्रोतसमेत विस्तार गरिरहेको छ ।

तर उत्पादन बढ्दै जाँदा किसानको आम्दानी भने त्यही अनुपातमा बढेको छैन। अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा सल्यानबाट तीन लाख ५५ हजार ५९३ मेट्रिक टन कृषिजन्य वस्तु निकासी हुँदा एक अर्ब ६९ करोड १० लाख ४ हजार रुपैयाँ बराबरको आम्दानी भएको थियो ।

भर्खर सकिएको आर्थिक वर्षमा भने कृषि उपजको परिमाण एक हजार ६३९ मेट्रिक टनले बढेको भए पनि आम्दानी करिब चार करोड ६४ लाख ८८ हजार रुपैयाँले घटेको कृषि विकास कार्यालयको विवरणमा देखिन्छ ।

उत्पादन बढे पनि आम्दानी घट्नुमा कृषि उपजको बजार मूल्यमा आउने उतारचढाव प्रमुख कारण रहेको बताइएको छ । किसानले उत्पादन गरेको बेला बजारमा मूल्य नपाउनु, उत्पादन लागत बढ्नु र बजारसम्म पु¥याउँदा लाग्ने खर्चले पनि आम्दानीलाई प्रभावित पार्ने गरेको देखिन्छ ।

उचित सिंचाइ सुविधा, समयमै मल, बीउ बिजनको उपलब्धता तथा किसानले उत्पादन गरेको वस्तुको जिल्लामै प्रशोधन, भण्डारण र व्यवस्थित बजारीकरण गर्न सक्ने संरचना बलियो बन्न सकेमा बाहिरिने कृषि उपजको परिमाणसँगै जिल्लामा भित्रिने रकम पनि अझ बढ्न सक्ने सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?