© 2026
गुल्मी । गुल्मीमा हवाई सेवा सञ्चालनमा आएको पनि तीन वर्ष भैसकेको छ । तर जिल्लामा हवाई सेवा सुरु भएदेखि नै यात्रुले नियमित उडानको सुविधा पाउन भने अझै सकिरहेका छैनन् ।
पटक पटक मौसम प्रतिकूलता भन्दै पटक पटक उडान रद्द हुने समस्या दोहोरिइरहँदा गुल्मीको हवाई सेवा यात्रुका लागि भरपर्दो साधन बन्न सकेको छैन ।
पछिल्लो दुई महिना भन्दा बढी समयदेखि प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलबाट हवाई सेवा ठप्प छ । लगातार वर्षा र दिउँसोको समयमा अत्यधिक हावाको चाप तथा बाक्लो कुहिरो लाग्ने गरेका कारण नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउँदै आएका छन् ।
हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानी सम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका छन् । विमानस्थलसम्म पुगेर उडानको प्रतीक्षामा बसेका यात्रु अन्तिम समयमा मौसमका कारण उडान रद्द भएपछि पटक पटक निराश हुँदै घर फर्किन बाध्य हुने गरेका छन् ।
“विमान आउने आशामा विमानस्थल पुग्यो, टिकट पनि काटिसक्यो तर अन्तिम समयमा मौसम खराब भयो भनेर उडान रद्द हुन्छ,” एक यात्रुले भने, “सडकबाट जाँदा १२ देखि १६ घण्टासम्म लाग्छ । हवाई सेवा नियमित भएमा ४५ देखि ५० मिनेटमै काठमाडौँ पुग्न सकिन्थ्यो तर सेवा नै भरपर्दो नहुँदा समस्या उस्तै छ ।”
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलबाट सातामा शनिबार, आइतबार र बिहीबार गरी तीन दिन उडान तालिका निर्धारण गरेको छ । तर मौसमको प्रतिकूलताका कारण निर्धारित तालिका अनुसार उडान हुन नसक्दा यात्रुले पटक–पटक टिकट रद्द गर्नुपर्ने अवस्था आउने गरेको छ । यसले यात्रुहरूलाई थप आर्थिक भारदेखि समयको समेत बरबादी मात्र गरेको बताइएको छ ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख थापाका अनुसार खराब मौसमका कारण उडान हुन नसक्दा टिकट लिएका यात्रु विमानस्थल आएर फर्किनुपर्ने अवस्था आउने गरेको बताइएको छ । रेसुङ्गा विमानस्थलबाट जेठको तेस्रो सातादेखि हवाई सेवा अवरुद्ध भएको थापाले बताए ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ । निगमले काठमाडौँ–गुल्मीका लागि १० हजार ७१० र गुल्मी–काठमाडौँका लागि १० हजार ५१० रुपैयाँ भाडादर निर्धारण गरेको छ ।
हवाई सेवा सुरु भएको तीन वर्षको अवधिमा जिल्लामा दुइतर्फी गरेर ३७८ वटा मात्र उडान भएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख थापाले बताएका छन् । पछिल्लो समयमा इन्धनको मूल्य वृद्धि भएपछि यात्रुहरूको सङ्ख्या ह्वात्तै घटेको उनले बताए ।
“इन्धनको मूल्यवृद्धिपछि विमानमा यात्रा गर्ने यात्रुको सङ्ख्या निकै नै घट्यो, यसले पनि नियमित उडान सञ्चालनमा समस्या सिर्जना भयो”, उनले भने । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा हावाको चाप अत्यधिक हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्रै उडान हुँदै आएको छ ।
गुल्मीमा हवाई सेवा सञ्चालन भएपछि जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता हुने अपेक्षा गरिएको थियो तर हवाई सेवा नै नियमित नहुँदा उक्त अवसर समेत गुमेको छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले जिल्लाको लागि अत्यावश्यक सेवा अन्र्तगत पर्ने हवाई सेवा नियमित हुनुपर्ने बताउँछन् ।
सडक मार्गबाट लामो यात्रा गर्नुपर्ने बाध्यता रहेका जिल्लावासीका लागि हवाई सेवा छोटो समयमा राजधानी पुग्ने महत्त्वपूर्ण विकल्प बनेको थियो । तर नियमित उडान नहुँदा त्यसको प्रभावकारिता समेत घट्दै गएको छ । सडक मार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने गुल्मीका नागरिकका लागि हवाई यात्राबाट करिब ४५ देखि ५० मिनेटमा राजधानी पुग्न सकिन्छ ।
गुल्मीमा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो । हवाई सेवा सुरु हुँदा जिल्लावासीमा उत्साह देखिए पनि पछिल्लो समय इन्धनको मूल्यवृद्धिका कारण यात्रुहरू सडक मार्गलाई भरपर्दो मान्दै आएका छन् ।
एकातिर बुटवल–नारायणगढ सडक स्तरोन्नति हुनु र अर्कोतिर जिल्ला भित्र नयाँ तथा आधुनिक एवं आरामदायी सार्वजनिक यातायातका साधनको सहज उपलब्धताका कारण विमानबाट यात्रा गर्ने यात्रुको सङ्ख्या पनि घट्दै गएको बताइएको छ ।
मौसमका कारण पटक–पटक उडान रद्द हुने समस्याले यात्रुमा हवाई सेवाप्रतिको विश्वास समेत घट्दै गएको छ । वर्षा याममा मात्र होइन, अन्य समयमा समेत मौसमको सामान्य परिवर्तनसँगै उडान प्रभावित हुने गरेको यात्रुको गुनासो छ ।
जिल्लामा करोडौँ लगानीमा निर्माण भएको विमानस्थलमा यसरी सुनसान बनिरहँदा राज्यको लगानी कतै बालुवामा हालेको पानी जस्तै बन्ने त हैन भन्ने आशङ्का नागरिकमा छाएको छ ।