© 2026
सल्यान । सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिका सभापति बेदबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिका वडा नं ३ मूलपानीमा मंगलबार भएको दुर्घटनामा घाइते वलीको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
वलीलाई थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान ३४ वर्षीय वलीको मृत्यु भएको रास्वपा कपुरकोटका सचिव चुडामणि पिएमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वलीको बिहान ७ः५५ बजेतिर मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब ११ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा लु.प्र. ०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र वलीले चलाएको बा.६८ प २५२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा कपुरकोट, ६ निवासी वलीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका ५२ वर्षीय शुकलाल वली पनि गम्भीर घाइते भएका थिए ।
दुवै घाइतेलाई कपुरकोट आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको थियो । अर्का घाइते शुकलालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले फोर्स गाडी र त्यसका चालक दाङको तुलसीपुर उपमहानगरपालिका, ११ बस्ने २७ वर्षीय सुरज मिजारलाई नियन्त्रणमा लिएको छ । मिजारलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।