© 2026
गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ न्वारामा बाख्रामा पिपिआर नामक रोगको सङ्क्रमण पुष्टि भएको छ ।
बाख्रामा देखिएको रोगको नमूना परीक्षण गर्दा पीपीआर रोग पुष्टि भएपछि जिल्लामा सम्भावित सङ्क्रमण तथा फैलावट रोक्नका लागि जिल्ला प्रशासन कार्यालयद्वारा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले दिएको जानकारी अनुसार हालसम्म न्वारा क्षेत्रमा पीपीआर सङ्क्रमण कारण चार वटा बाख्रा मरेका छन् भने आठ वटा बाख्रामा सङ्क्रमण देखिएको छ ।
मदाने गाउँपालिका–६ न्वारा क्षेत्रमा करिब १५ दिनअघि अर्घाखाँचीको धारापानीबाट दुई वटा बोका ल्याइएपछि स्थानीय किसानले पालेका बाख्रामा रोगका लक्षण देखिन थालेको बताइएको छ ।
बाख्रामा रोगका लक्षण देखिएको जनाकारी प्राप्त भएलगत्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पशु चिकित्सक सोनिया थापा सहितको टोली गत तीन दिन अघि प्रभावित क्षेत्रमा पुगेको थियो । उक्त टोलीले त्यहाँबाट सात वटा बाख्राको नमूना सङ्कलन गरेको थियो सङ्कलित नमूनालाई कार्यालयले पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासी पठाएको थियो ।
प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा पीपीआर रोग पोजेटिभ देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डले बताए । रोग पुष्टि भएपछि मदाने गाउँपालिकाको पशु सेवा प्राविधिक टोली किसानका खोरमै पुगेर बाख्राको उपचारमा जुटिरहेका छन् ।
यसैबिच सदरमुकाम तम्घासबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट कार्यालय प्रमुख हुमकान्त पाण्डेको नेतृत्वमा टोली मंगलबारनै प्रभावित क्षेत्रमा पुगि सकेको छ ।
पीपीआर रोगको सङ्क्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएसँगै जिल्ला प्रशासन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भेडा तथा बाख्रामा रोग तीव्र रूपमा फैलिन सक्ने भन्दै कृषकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा मदाने गाउँपालिका–६ न्वारा क्षेत्रलाई पिपिआर प्रभावित क्षेत्र घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि उक्त क्षेत्रबाट बाख्रा तथा भेडा अन्यत्र ढुवानी तथा ओसारपसार नगर्न र नगराउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले बताए ।
यसैबीच भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले समेत सूचना जारी गरी पिपिआर रोग नियन्त्रणका लागि बाख्रापालक कृषकहरूलाई सम्बन्धित स्थानीय तहका पशु सेवा शाखामा सम्पर्क गरी पिपिआर रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।