© 2026
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुवै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार राप्रपाले आफ्ना प्रदेशसभा सदस्यलाई तटस्थ बस्न ह्विपसमेत जारी गरेको छ।
सोमबार बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदैछन्। बागमतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ भने लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकार छ। दुवै प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बीच सरकार गठनका लागि सहमति भए पनि मुख्यमन्त्रीहरूलाई बहुमत कायम गर्न थप दलको समर्थन आवश्यक देखिएको छ।
यस्तो अवस्थामा राप्रपाले भने दुवै प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुवै प्रदेशका संसदीय दलका नेतालाई तटस्थ बस्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जनाएका छन्। राप्रपाका बागमती प्रदेशसभामा १२ र लुम्बिनी प्रदेशसभामा ४ सांसद छन्।