Butwal Today

‘वन संरक्षणमा साथ, पारदर्शितामा जोड’

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

चन्द्रौटा । वन संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले बताएका छन् ।

शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारण सभामा स्थानीय सरकार र सामुदायिक बनबिच सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका हुन् । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वन संरक्षणमा नगरपालिकाको साथ रहने तर सुशासन र पारदर्शितामा कुनै सम्झौता गर्न नहुने बताएका छन् ।

साधारण सभामा बोल्दै नगर प्रमुख अर्यालले वन क्षेत्रको संरक्षण, संवर्द्धन र उचित व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । सामुदायिक वनले प्रभावकारी काम गरे स्थानीय सरकारको सहयोग निरन्तर रहने उनको भनाइ छ । वन र स्थानीय सरकारबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै वन स्रोतको दिगो उपयोग र संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने उनले बताए ।

यसैबिच सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरीले वनले स्थानीय उपभोक्ताको आवश्यकता पूरा गर्नुका साथै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत योगदान दिँदै आएको बताए । वन व्यवस्थापनलाई प्रभावकारी बनाउन उपभोक्ता समूह र सम्बन्धित निकायबिच निरन्तर सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष रेनु सेनले वन व्यवस्थापन वैज्ञानिक र दिगो हुनुपर्नेमा जोडदिइन् । यस्तै सब डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश जसवालले वन संरक्षण तथा व्यवस्थापनका लागि कार्यालयबाट हुने सहयोग आगामी दिनमा पनि निरन्तर रहने बताए ।

साधारण सभामा सचिव सज्जु कुमारी मल्लले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी खत्री क्षेत्रीले आर्थिक प्रतिवेदन तथा आन्तरिक लेखा परीक्षण संयोजक प्रेमप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सामुदायिक वनले आर्थिक वर्षमा १ करोड ७६ लाख ३८ हजार ६९९ रुपैयाँ आम्दानी गरेको जनाएको छ । कार्यक्रममा सब डिभिजन वन कार्यालय मोतीपुरका प्रमुख एजाज अन्सारी, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोखरेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?