Butwal Today

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

मुस्ताङ ।  मुस्ताङको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो  छ  । यो जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ । “अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ”, उनले भनिन ।

प्राकृतिक विपद्, दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानका अस्पतालमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा  समस्या जटिल हुने गरेको उनले बताइन । नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटक पटक माग गरिए पनि हालसम्म प्राप्त नभएको उनले दुखेसो गरिन ।

अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएपछि  बिरामीलाई समस्या थपिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गरे ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा आठ वटा एम्बुलेन्स भए पनि आधा मात्र सञ्चालनमा छन् । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स छैन । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका  रहेका एम्बुलेन्स भने सुचारु रूपले चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?