Butwal Today

बुटवल–पाल्पा पदयात्राबाट ऐतिहासिक सम्पदाको प्रवर्धन

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल ।  बुटवल र पाल्पामा रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदालाई पर्यटनसँग जोड्ने उद्देश्यले बुटवलदेखि पाल्पाका विभिन्न ऐतिहासिक स्थलसम्मको दुई दिने पदयात्रा शनिबारदेखि सुरु भएको छ ।

‘पाल्पाली पहिचान, सेनकालीन इतिहास’ भन्ने नारासहित सुरु भएको पदयात्राले बुटवलको पुरानो बटौलीदेखि पाल्पाको तानसेनसम्मका ऐतिहासिक स्थललाई एउटै पर्यटन मार्गका रूपमा जोड्ने प्रयास गरेको छ ।

नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स संघ (नाट्टा) पाल्पाको आयोजनामा भएको पदयात्रा बुटवलको पुरानो बटौलीस्थित करिब सात सय वर्ष पुरानो ऐतिहासिक बाघभैरव मन्दिरमा पूजापाठ गरी सुरु गरिएको हो । पहिलो दिनको पदयात्रा बाघभैरव मन्दिरबाट बुटवल जितगढी किल्ला, मणिमुकुन्द सेन पार्क हुँदै पाल्पाको नुवाकोट भएर जन्तीलुङ पुगेर समापन हुने आयोजकले जनाएको छ ।

दोस्रो दिन आइतबार जन्तीलुङबाट सुरु हुने पदयात्रा पाल्पाको तानसेनस्थित भगवती मन्दिरसम्म पुग्नेछ । यस क्रममा सेनकालीन इतिहाससँग जोडिएका विभिन्न स्थल तथा सम्पदाको अवलोकन गरिनेछ ।पदयात्राको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल र पाल्पाबिचको ऐतिहासिक सम्बन्धलाई पर्यटनसँग जोड्न पदयात्राले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले बुटवल र पाल्पामा रहेका धेरै ऐतिहासिक तथा पर्यटकीय स्थल अझै पर्याप्त रूपमा प्रचारमा आउन नसकेको उल्लेख गर्दै यस्ता कार्यक्रमले ती स्थलको पहिचान र प्रवर्धनमा सहयोग पुग्ने बताए ।  “बुटवलदेखि पाल्पासम्मका ऐतिहासिक स्थललाई एउटै मार्गमा जोडेर पर्यटन प्रवर्धन गर्ने प्रयास आफैँमा महत्त्वपूर्ण छ,” उनले भने, “यस्ता गतिविधिले स्थानीय पर्यटन विकासमा नयाँ सम्भावना देखाउनेछ ।”

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले पुरानो बटौलीबाट सुरु भएको पदयात्राले ऐतिहासिक तथा लोपोन्मुख सम्पदाको संरक्षण र प्रचारमा समेत सहयोग पुग्ने बताए । बुटवलको पुरानो बजार क्षेत्र र त्यहाँ रहेका धार्मिक तथा ऐतिहासिक सम्पदालाई पर्यटनको मूल प्रवाहमा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

नाट्टा पाल्पाका अध्यक्ष राजीवकुमार शाहले पाल्पामा रहेका ऐतिहासिक स्थललाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए । विशेषगरी सेनकालीन राजाका दरबार, किल्ला तथा अन्य ऐतिहासिक स्थलको भ्रमण गराउँदै तिनको महत्वबारे जानकारी गराउने उद्देश्य रहेको उनले बताए ।

“पाल्पाको पर्यटन भन्नासाथ तानसेन वा केही सीमित गन्तव्य मात्र सम्झिने अवस्था छ । ऐतिहासिक स्थललाई पदमार्गमार्फत जोडेर नयाँ पर्यटन मार्ग विकास गर्न सकिन्छ,” उनले भने । पदयात्राले धार्मिक तथा ऐतिहासिक पर्यटनसँगै साहसिक र प्रकृति पर्यटनलाई समेत जोड्ने आयोजकको विश्वास छ ।

बुटवलको पुरानो बटौली, जितगढी, मणिमुकुन्द सेनसँग सम्बन्धित स्थल, नुवाकोट र जन्तीलुङ हुँदै तानसेनसम्मको क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण रहेकाले यसलाई व्यवस्थित पदमार्गका रूपमा विकास गर्न सकिने बताइएको छ ।

तानसेनका स्थानीय व्यवसायी रमेशमान महर्जनले बुटवलदेखि पाल्पासम्मका ऐतिहासिक स्थललाई जोडेर पदयात्रा सञ्चालन गरिनु पर्यटन व्यवसायका लागि पनि सकारात्मक भएको बताउनुभयो । उहाँका अनुसार पदयात्रामा सहभागी हुनेहरूका माध्यमबाट स्थानीय ऐतिहासिक स्थलको प्रचारप्रसार बढ्नुका साथै स्थानीय होटल, होमस्टे, यातायात तथा अन्य व्यवसायले समेत लाभ लिन सक्छन् ।

पदयात्रा श्रावण महिनाको शनिबार आयोजना गरिएकाले धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत यसको महत्व रहेको आयोजकले जनाएको छ । स्थानीय समुदायको सहभागितामा यस्ता पदयात्रालाई नियमित र व्यवस्थित बनाउन सके बुटवल–पाल्पा क्षेत्रको पर्यटन प्रवर्धनमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बुटवल र पाल्पाबिच ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहे पनि यहाँका धेरै सम्पदा अझै पर्यटनको प्रमुख सूचीमा आउन सकेका छैनन् । ती सम्पदालाई पदमार्ग, धार्मिक यात्रा र ऐतिहासिक पर्यटनसँग जोडेर प्रवर्धन गर्न सके स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिसमेत बढाउन सकिने सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?