© 2026
काठमाडौं । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न दिएको सूचनाप्रति होटल व्यवसायी महासंघ नेपालले आपत्ति जनाएको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायको प्रकृति, आकार र दैनिक खपतको वास्तविकता नबुझी व्यावसायिक प्रयोजनका लागि राखिएको ग्यास मौज्दातलाई अनावश्यक सञ्चिति वा कालोबजारीसँग जोडेर हेर्नु स्वीकार्य नभएको जनाएको हो ।
महासंघका अध्यक्ष टि.आर भण्डारी शंकरले ठूला होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा ब्याङ्केटमा घरायसी प्रयोजनको तुलनामा ग्यासको दैनिक खपत अत्यधिक हुने भएकाले व्यवसाय सञ्चालनका लागि आवश्यक मौज्दात राख्नु स्वाभाविक भएको बताएका छन् । सिलिन्डरको संख्या मात्र हेरेर व्यवसायीलाई शंकाको घेरामा राख्नु वास्तविकतामाथिको सरलीकृत र अन्यायपूर्ण दृष्टिकोण हो,’ महासंघले विज्ञप्तिमा भनेको छ ।
महासंघले कालोबजारी, कृत्रिम अभाव वा गैरकानुनी गतिविधिको पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै कानूनविपरीत कार्य गर्ने जो–कोहीमाथि प्रमाणका आधारमा कारबाही हुनुपर्ने जनाएको छ । तर केही व्यवसायी वा घटनालाई आधार बनाएर समग्र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने र व्यवसायीलाई आतंकित बनाउने कार्यको भने विरोध गरेको छ ।
महासंघले होटल तथा रेष्टुरेन्ट व्यवसायीले लामो समयदेखि ग्यास, डिजेल, पेट्रोल तथा विद्युत्लगायतका ऊर्जा स्रोतको अभाव, अनियमित आपूर्ति र बढ्दो लागतको सामना गरिरहेको जनाएको छ । व्यवसाय सञ्चालनका लागि आवश्यक ऊर्जा सहज र नियमित रूपमा उपलब्ध गराउनु राज्यको दायित्व भएको महासंघको भनाइ छ । नियमनका नाममा व्यवसायीलाई अनावश्यक रूपमा त्रसित बनाउने, सार्वजनिक रूपमा बदनाम गर्ने वा समग्र व्यवसाय क्षेत्रप्रति नकारात्मक धारणा निर्माण गर्ने प्रवृत्ति स्वीकार्य नहुने महासंघले जनाएको छ ।
महासंघले आगामी दिनमा यस्ता विषयमा निर्णय वा सार्वजनिक सूचना जारी गर्नुअघि सम्बन्धित व्यवसायिक संघ–संस्था तथा महासंघसँग आवश्यक संवाद र समन्वय गर्न नेपाल आयल निगमलगायत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।आपूर्ति व्यवस्थापनमा समस्या भए व्यवसायीसँग सहकार्य गरेर समाधान खोज्न र कालोबजारी वा कृत्रिम अभाव भए प्रमाणका आधारमा दोषीमाथि कारबाही गर्नुपर्ने महासंघको माग छ ।
महासंघले होटल तथा आतिथ्य क्षेत्रमाथि अव्यवहारिक हस्तक्षेप, अविश्वास र आतंक सिर्जना गर्ने अवस्था कायम रहे व्यवसायीको हक, हित र व्यवसायिक अस्तित्वको संरक्षणका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ । महासंघले होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक तथा पर्यटन विकासको साझेदारका रूपमा व्यवहार गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।