© 2026
चन्द्रौटा । पछिल्लो लामो समयदेखि विजयनगरमा पानी नपर्दा सुख्खा क्षेत्र घोषण गर्न आग्रह गरिएको छ ।
जताकतै पानी परे पनि कपिलवस्तुको विजयनगर गाउँपालिकामा पानी नपरेपछि गत बुधबार मन्त्रीहरूसँग आग्रह गरिएको पालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरी र सामाजिक विकास मन्त्री सन्तोष कुमार पाण्डेलाई गाउँपालिकाको समग्र अवस्थाबारे जानकारी गराइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विकासको अवस्था, लामो समयदेखि पानी नपर्दा कृषि क्षेत्रमा परेको असर, सिँचाइको समस्या रहेको उनले बताए । अध्यक्ष थापाले सुख्खाका कारण किसानले भोग्नु परेको समस्याबारे बताउँदै प्रदेश सरकारका मन्त्रीहरूलाई जानकारी गराएको जिकिर गरे ।
यस वर्ष लामो समयसम्म वर्षा नहुँदा विजयनगरमा ४० प्रतिशत भन्दा बढी क्षेत्रमा धान रोपाई हुन नसकेको र रोपाई भएका खेतमा समेत धान सुक्न थालेको थापाले बताए । अब वर्षा भए पनि ढिला भएकाले अपेक्षित उत्पादन हुन नसक्ने अवस्था रहेको भन्दै उनले विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न आग्रह गरे ।
गाउँपालिकाको अवस्थाबारे जानकारी पाएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरीले विजयनगरमा सिँचाइको सम्भाव्यता अध्ययन गरी योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए । सुरई खोला र चिरई खोलाबाट लिफ्ट सिँचाइको पहल गर्नुपर्ने तथा सिँचाइको मुख्य मेरुदण्डका रूपमा रहेको राजकुलोको सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने थापाले बताए ।
त्यस्तै सामाजिक विकास मन्त्री सन्तोषकुमार पाण्डेले विजयनगर गाउँपालिका–७ मा अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनालाई व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए ।
मन्त्रीहरूले कृषि ज्ञान केन्द्र कपिलवस्तुलाई विजयनगरको सिँचाइ, कृषि अवस्था, क्षति तथा आवश्यकतासम्बन्धी विवरण मन्त्रालयमा पठाउन आग्रह गरेका छन् । लामो समयसम्म पानी नपर्दा धानबाली प्रभावित भएपछि किसानलाई राहत तथा कृषि क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारबाट आवश्यक पहल गरिने मन्त्रीहरूको भनाई छ ।