Butwal Today

निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने नगरको घोषणा असफल, बुटवलका विद्यार्थीले दिए पुस्तकबिनै परीक्षा

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ‘हाम्रो बुटवल’ पुस्तक निःशुल्क उपलब्ध गराउने घोषणा गरे पनि कक्षा ६, ७ र ८ का विद्यार्थीले पाठ्यपुस्तक नै नपाई परीक्षा दिनुपरेको छ ।

पाठ्यपुस्तक छपाइमा ढिलाइ भएपछि विद्यार्थीले पाठ्यपुस्तकविनै पढाइ पूरा गरी मंगलबार सो विषयको परीक्षा दिएका हुन् ।
बुटवलका सामुदायिक विद्यालयमा कक्षा ५ सम्मको हाम्रो बुटवल पाठ्यपुस्तक भने असारमै पुगेको थियो । तर कक्षा ६, ७ र ८ का पाठ्यपुस्तक अझै छपाइको प्रक्रियामै रहेकाले विद्यार्थीले किताब नदेखी परीक्षा दिनुपरेको हो । बुटवलका विद्यालयमा मंगलबार परीक्षा सञ्चालन भएको थियो ।

कालिका माध्यमिक विद्यालयका शिक्षक खेम तिवारीका अनुसार कक्षा ५ सम्मका पाठ्यपुस्तक असारमै विद्यालयमा प्राप्त भएका थिए । तर कक्षा ६, ७ र ८ को हाम्रो बुटवल पाठ्यपुस्तक उपलब्ध नभएपछि पाठ्यक्रमका आधारमा शिक्षकले विषयवस्तु तयार गरी पढाएका थिए ।

“कक्षा ६, ७ र ८ का किताब आएनन् । पाठ्यक्रममा आधारित भएर पुस्तकविनै पढाइयो र त्यही आधारमा परीक्षा लिइएको छ,” उनले भने, “पाठ्यपुस्तक नहुँदा विद्यार्थीले अन्योलकै बिच परीक्षा दिनुपरेको अवस्था छ ।”

बुटवल उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयका विद्यार्थीलाई हाम्रो बुटवल पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने तयारी गरेको थियो । त्यस क्रममा पुरानो पाठ्यपुस्तकमा रहेका विवादास्पद विषयवस्तु हटाउने वा संशोधन गर्ने विषयमा समेत छलफल भएको थियो ।

बुटवल उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख मित्रमणि खनालका अनुसार विद्यालयलाई पाठ्यक्रम कार्यान्वयनका लागि दुई विकल्प दिइएको थियो ।

पुरानो पाठ्यपुस्तकका विवादास्पद पाठ रोक्दै उपलब्ध सामग्रीका आधारमा पढाउने वा स्वीकृत पाठ्यक्रमका आधारमा नयाँ सामग्री तयार गरी अध्यापन गर्ने विकल्प दिइएको उनले बताए ।

“हामीले विद्यालयलाई दुई वटा विकल्प दिएका थियौँ । विद्यालयहरूले पाठ्यक्रममा आधारित भएर पढाउने विकल्प रोजे,” खनालले भने । उनका अनुसार कक्षा ६, ७ र ८ का लागि पाठ्यपुस्तक लेखनको प्रक्रिया अघि बढिसकेको छ । तर पुस्तक कहिलेसम्म विद्यार्थीको हातमा पुग्छ भन्ने विषय छपाइको प्रक्रियामा निर्भर हुने उनले बताए ।

“जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ गराउँदा मङ्सिरसम्म पुस्तक तयार हुन सक्छ । स्थानीय व्यवसायीबिच प्रतिस्पर्धाका आधारमा छपाइ गराउँदा भने थप दुई–तीन महिना लम्बिन सक्छ,” उनले भने ।

पाठ्यपुस्तक अभावका कारण विद्यार्थीले शैक्षिक सत्रको सुरुदेखि नै पुस्तकविनै पढ्नुपरेको र अहिले परीक्षा पनि त्यसै अवस्थामा दिनुपरेको शिक्षकहरू बताउँछन् । पाठ्यक्रमअनुसार पढाइ भए पनि पुस्तकले विद्यार्थीलाई विषयवस्तु बुझ्न, अभ्यास गर्न र स्वअध्ययन गर्न सहज बनाउने भएकाले लामो समयसम्म पाठ्यपुस्तकविहीन अवस्था रहँदा सिकाइमा असर पर्न सक्ने उनीहरूको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरे पनि विद्यार्थीले शैक्षिक सत्रको महत्त्वपूर्ण समय पुस्तकविनै बिताउनुपरेपछि नगरको तयारी र कार्यान्वयनमाथि प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?