© 2026
काठमान्डौँ ।
पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आह्वान गरेका हुन् ।
नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो । बिहीबार बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ । महासंघले श्रेष्ठको पक्राउ तथा सञ्चारगृहमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै विरोध गरेको छ ।
श्रेष्ठको पक्राउपछि बुधबार राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो ।
महासंघले श्रेष्ठलाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै रिहाइ नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका श्रेष्ठ खरो र निर्भीक पत्रकारका रूपमा परिचित छन् ।