© 2026
नवलपरासी ।
कम्बोडियामा सम्पन्न छैटौँ कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी खेलाडी सुष्मा चौधरीलाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सुष्मालाई प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेका हुन् ।
विश्वका विभिन्न देशका खेलाडी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुष्माले नेपालका लागि स्वर्ण पदक जितेकी हुन् । उनको यो उपलब्धिलाई नेपाली खेलकुदका लागि महत्त्वपूर्ण तथा ऐतिहासिक सफलताका रूपमा लिइएको छ ।
बर्दघाट नगरपालिका–५ निवासी सुष्माको सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम र झन्डालाई गौरवान्वित बनाएको भन्दै नगरपालिकाले सम्मान गरेको जनाएको छ ।
सुष्माको सफलताप्रति खेल प्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । यसै गरी, बर्दघाट नगरपालिकाका विभिन्न सङ्घसंस्थाले पनि उनको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।