© 2026
दोहा (कतार) ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिँदै आएको आन्तरिक विवाद, राजनीतिक प्रभाव र संस्थागत असमझदारीलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईका अध्यक्ष भिम मल्ल ठकुरी र एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जोड दिएका छन् ।
कतार भ्रमणमा रहेका एनआरएनए एनसीसी यूएईका अध्यक्ष ठकुरीसँग एनसीसी कतारले आयोजना गरेको भेटघाट कार्यक्रममा दुवै अध्यक्षले एनआरएनएको संस्थागत अवस्था, विगतका अनुभव, श्रमिकका मुद्दा तथा आगामी दिनमा संघलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए ।
ठकुरीले एनआरएनए अभियानमा क्षेत्रीय तहदेखि यूएईको एनसीसी उपाध्यक्ष हुँदै अध्यक्षसम्मको जिम्मेवारीमा रहँदा प्राप्त गरेका अनुभव सुनाउँदै संस्थाभित्र देखिने राजनीति, विवाद र राजनीतिक दलगत प्रभावप्रति चिन्ता व्यक्त गरे । एनआरएनए कुनै व्यक्ति वा राजनीतिक दलको स्वार्थ पूरा गर्ने संस्था नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा संस्था भएकाले साझा उद्देश्य र प्रवासी नेपालीको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कतारमा समानान्तर रूपमा रहेका दुई एनसीसीका समिति तथा अभियन्ताहरूबीच सहकार्य र एकताको वातावरण निर्माण भएकोप्रति ठकुरीले खुसी व्यक्त गरेका छन् । कतारमा देखिएको एकताको प्रयासले एनआरएनए अभियानलाई थप मजबुत बनाउने उनको विश्वास छ । यूएईमा देखिएको संस्थागत असमझदारी पनि संवाद र सहकार्यका माध्यमबाट चाँडै समाधान हुने उनले अपेक्षा व्यक्त गरे ।
संस्थालाई फुटाउन वा विभाजित गर्नुभन्दा सबै पक्षलाई समेटेर अघि बढ्नु चुनौतीपूर्ण भए पनि असम्भव नभएको उनको धारणा थियो । ‘संस्थागत असमझदारीभन्दा ठूलो कुरा एनआरएनए अभियान हो,’ ठकुरीले भने ।
भेटघाटमा एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले पनि एनआरएनएको संस्थागत एकता र निर्णय प्रक्रियाका विषयमा आफ्ना अनुभव साझा गरेका छन् । श्रमिकका मुद्दामा काम गर्ने क्रममा आफूले व्यावहारिक कठिनाइ, चुनौती तथा विभिन्न दबाबको सामना गर्नुपरेको स्मरण गर्दै पन्थीले श्रमिकको हकहितका लागि निरन्तर काम गरिरहेका एनआरएनए अभियन्ताहरूको प्रयासको प्रशंसा गरे ।
कतारमा विगतमा संस्थागत एकता कायम गर्ने क्रममा विभिन्न उतारचढाव र चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै पन्थीले समयमै दृढ निर्णय लिन सक्दा एकता कायम गर्न सफल भएको बताए । ‘संस्थालाई फुटाउन वा तोड्न सजिलो हुन्छ, तर जोड्न र मिलाएर लैजान निकै कठिन हुन्छ,’ पन्थीले भने ।
एनआरएनए कुनै राजनीतिक दल विशेषको संस्था नभएको उल्लेख गर्दै उनले सबै गैरआवासीय नेपालीको साझा संस्थालाई दलगत स्वार्थभन्दा माथि उठाएर अघि बढाउनुपर्नेमा जोड दिए ।
ठकुरीसँगको भेटघाटका क्रममा आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन कतारमा आयोजना गर्ने विषयमा समेत छलफल भएको थियो । कतारमा सम्मेलन आयोजना गर्न वातावरण अनुकूल रहेको ठकुरीको भनाइ थियो। भिसा प्रक्रिया तथा सुरक्षा व्यवस्थाका दृष्टिले पनि कतार उपयुक्त रहेको उनले उल्लेख गरे ।
एनसीसी कतारले आयोजना गरेको उक्त भेटघाटमा एनआरएनए अभियानमा आबद्ध विभिन्न पदाधिकारी तथा अभियन्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ठकुरीले भेटघाट तथा समन्वयका लागि एनसीसी कतारका पदाधिकारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आपसी सम्बन्ध, सहकार्य र एकतालाई निरन्तरता दिन आग्रह गरे ।