© 2026
काठमाडौँ । प्रधानमन्त्री बनेयता प्रतिनिधिसभामा एकपटक मात्र बोलेका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना धारणा प्रायः सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन्। त्यसैले उनका सामाजिक सञ्जालका अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिने गरेको छ।
साउन २२ गते राति उनले फेसबुकमा लेखे— ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि सरकार र उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच दूरी बढ्दै गएको हो कि भन्ने बहस सुरु भएको छ।त्यसअघि सोही दिन प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद मनिष झा, इन्दिरा राना, रमेश प्रसाईं, कमल सुवेदी, टीका संग्रौला र अमरेशकुमार सिंहले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यसकारण बालेनको स्टाटस आफ्नै पार्टीका गतिविधितर्फ लक्षित हुन सक्ने चर्चा भयो।
सभापतिको अधिकारप्रति बालेन असन्तुष्ट ?
बालेननिकट नेताहरूका अनुसार पार्टीभित्र केही गतिविधिप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन्। विशेषगरी रास्वपाको विधान संशोधनमार्फत सभापति रवि लामिछानेलाई पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयनमा दिइएको अधिकारले प्रधानमन्त्रीलाई झस्काएको उनीहरूको दाबी छ।
एक नेताका अनुसार संसदीय दलको नेता प्रधानमन्त्री स्वयं भए पनि पार्टी सभापतिले जुनसुकै बेला दलको नेताबाट हटाउन सक्ने प्रावधानप्रति बालेनको चित्त बुझेको छैन। यता, सभापति रवि लामिछानेनिकट नेताहरू भने प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्। रास्वपा सहमहामन्त्री हरि ढकालले प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यशैलीप्रति टिप्पणी गर्दै बालेनलाई ‘सिंह’सँग तुलना गरेका थिए। उनले पछि सामाजिक सञ्जालमार्फत आफ्नो भनाइमा आफू अडिग रहेको बताएका छन्।
लामिछानेनिकट एक पदाधिकारीले सरकार पार्टीको हुनुपर्ने तर प्रधानमन्त्रीको सचिवालयले आफ्नो छुट्टै शैलीमा सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।उनका अनुसार प्रधानमन्त्री पार्टीका वरिष्ठ नेता भए पनि पार्टीका अन्य नेतासँग पर्याप्त संवाद, सहकार्य र समन्वय हुन नसकेको गुनासो छ।
बालेन पहिलो मधेसी मूलका प्रधानमन्त्री भएकाले मधेसमा उनीप्रति विशेष अपेक्षा रहेको रास्वपा नेताहरूको भनाइ छ। तर प्रधानमन्त्री बनेपछि मधेस भ्रमण नगरेको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको छ।मधेसमा तनाव उत्पन्न हुँदासमेत प्रधानमन्त्री त्यहाँ नपुगेको विषयलाई पनि लामिछानेनिकट नेताहरूले आलोचनाको आधार बनाएका छन्।
सरकारको कामप्रति पार्टी सभापति पनि असन्तुष्ट
देशमा ग्यास अभाव, अस्पतालमा बढ्दो भीडलगायत विषयले सरकारप्रति जनताको निराशा बढ्न थालेको नेताहरूको दाबी छ।रास्वपा सभापति रवि लामिछानेले समेत सरकारको चार महिनाको कार्यसम्पादन चित्तबुझ्दो नभएको संकेत गरेका छन्। सरकारले बाटो बिराए पार्टीले सरकारलाई सच्याउने क्षमता राख्ने उनको भनाइ छ। यद्यपि प्रधानमन्त्रीका नीति तथा सुशासन सल्लाहकार सुदीप ढकालले प्रधानमन्त्रीले पार्टीसँगको सम्बन्धबारे आफूहरूलाई कुनै विशेष जानकारी नदिएको बताएका छन्।
सरकार र पार्टीबीच समन्वय कायम गर्ने उद्देश्यले प्रधानमन्त्री बालेनले आफ्ना राजनीतिक सल्लाहकार असिम शाहलाई ‘नागरिक नीति र नेतृत्व कार्यक्रम’ सञ्चालनको जिम्मेवारी दिएका छन्। रास्वपा सहमहामन्त्रीसमेत रहेका शाहले भदौदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्। यसले प्रधानमन्त्री र पार्टीबीच देखिन थालेको भनिएको दूरी कम गर्न सहयोग गर्छ कि गर्दैन भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुने देखिन्छ।