© 2026
धनगढी । सुदूरपश्चिम प्रदेशमा जलवायु उत्थानशीलता तथा पूर्वानुमानमा आधारित विपद् पूर्वकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रममा सरोकारवालाहरूले ११ बुँदे सङ्कल्प पत्र जारी गर्दै पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रदेशको विपद् व्यवस्थापन प्रणालीसँग एकीकृत गर्ने निर्णय गरेका हुन् ।
सङ्कल्पपत्रमा राष्ट्रिय पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रदेश तथा स्थानीय तहका नीति, योजना, बजेट र कार्यक्रममा समन्वय गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।
साथै, पूर्व सूचना प्रणाली, निर्णय सहयोग प्रणाली तथा पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी संयन्त्रलाई सुदृढ बनाउँदै समुदायसम्म समयमै सूचना पुर्याउने प्रतिबद्धता जनाइएको छ ।
प्रतिबद्धता पत्रमा विपद्को उच्च जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राख्ने उल्लेख छ ।
जलवायु परिवर्तन तथा पूर्वानुमानसम्बन्धी तथ्याङ्क, सूचना, प्रविधि, अनुसन्धान र असल अभ्यासको नियमित आदानप्रदान तथा उपयोग गर्ने, साथै संघ, प्रदेश र स्थानीय सरकारबिचको समन्वयलाई विकास साझेदार, निजी क्षेत्र, शैक्षिक संस्था तथा नागरिक समाजसँगको सहकार्यमार्फत थप सुदृढ बनाइने जनाइएको छ ।
यसै गरी, पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी बनाउन आवश्यक संस्थागत क्षमता विकास, स्रोत परिचालन तथा वित्तीय लगानी वृद्धि गर्न संयुक्त प्रयास गर्ने सहमति भएको छ । प्रकृतिमा आधारित समाधान, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील विकासका अभ्यासलाई विस्तार गर्दै प्रतिबद्धतालाई नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने लक्ष्य पनि अघि सारिएको छ ।
सङ्कल्पपत्रले सुदूरपश्चिम प्रदेशलाई पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यान्वयनको अग्रणी प्रदेशका रूपमा विकास गर्दै ज्ञान, नेतृत्व, समन्वय र सहकार्यलाई निरन्तरता दिने लक्ष्य लिएको छ । साथै, विपद् सूचना तथा पूर्वसूचनाको प्रभावकारी प्रसार गरी जोखिममा रहेका समुदायलाई समयमै सुरक्षित गर्ने र सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) सान परियोजना, मर्सीकोर नेपाल तथा द कोकाकोला फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव तेजप्रसाद जोशी, पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलियाकुमारी राना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव राजेन्द्र शर्मा, मर्सीकोर नेपालकी कल्पना बस्याल तथा जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार साह लगायतले प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए ।