© 2026
दोहा (कतार) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ कतार आइपुगेका छन्।
एमालेको प्रवासस्थित भ्रातृ सङ्गठन प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न उनी बुधबार दोहा आइपुगेका हुन्।
हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेम्बाङलाई प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चूडामणि कार्की, एमाले नेता चानक पोखरेलसहित मञ्चका पदाधिकारीहरूले भव्य स्वागत गरेका थिए। महाधिवेशन यही शुक्रबार (अल दफ्नास्थित सेन्ट्रा वेस्ट बे होटेल एन्ड सुइट्स) मा आयोजना हुँदै छ।
दिउँसो १२ बजेबाट सुरु हुने महाधिवेशनले सङ्गठनको भावी कार्यदिशा र नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ।
कार्यक्रममा कतारमा क्रियाशील विभिन्न सामाजिक सङ्घ(संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको ठुलो उपस्थिति रहने अपेक्षा गरिएको छ। सम्मेलनमा प्रवासमा रहेका नेपाली श्रमिकका समसामयिक समस्या, हकहित र सङ्गठन सुदृढीकरणका विषयमा व्यापक छलफल हुने मञ्चका अध्यक्ष चूडामणि कार्कीले जानकारी दिए।