© 2026
काठमाडौं । नेपालमा दर्ता भएका गैरसरकारी संस्था एनजीओ मध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ। बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषद्का सदस्य–सचिव चक्रबहादुर बुढाले परिषद्मा हालसम्म करिब ६० हजार एनजीओ आबद्ध रहेको जानकारी दिए। तीमध्ये करिब १० हजार संस्था मात्रै सक्रिय रहेको उनले बताए।
उनका अनुसार हालसम्म करिब २ सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओले नेपालमा काम गरेको अभिलेख रहे पनि अहिले १३६ वटा मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा छन्। बैठकमा इन्टरनेसनल कमिसन अफ जुरिस्ट आईसीजेको अवस्थाबारे जानकारी दिँदै बुढाले उक्त संस्थाले सन् २००९ देखि नेपालमा काम सुरु गरेको र २५ फेब्रुअरी २०२२ मा पाँच वर्षका लागि सम्झौता नवीकरण भएको बताए। आईसीजेले संक्रमणकालीन न्याय, मानव अधिकार, सर्वोच्च अदालतका नजिर तथा पीडितको कानुनी अधिकारका क्षेत्रमा काम गर्दै आएको छ। हाल यसले अपाङ्गता भएका महिला तथा बालिकाको अधिकारसम्बन्धी ‘इनेबल’ परियोजना प्रस्ताव गरेको छ, जुन मन्त्रालयको सहजीकरण समितिमा छलफलमा रहेको छ।
त्यसैगरी, एम्नेस्टी इन्टरनेसनल नेपाल २०६२ सालदेखि समाज कल्याण परिषद्मा आबद्ध रहेको र यसको आबद्धता २०८३ असार मसान्तसम्म कायम रहने जानकारी दिइयो। संस्थाले सन् २०२६ का लागि ५ करोड १५ लाख ४२ हजार ५४० रुपैयाँ बजेटको मानव अधिकार अभियान तथा वकालतसम्बन्धी कार्यक्रम स्वीकृत गराएको छ। उक्त कार्यक्रमका लागि आवश्यक वैदेशिक सहायता लन्डनस्थित अन्तर्राष्ट्रिय सचिवालयबाट प्राप्त हुने परिषद्को अभिलेखमा उल्लेख छ।
सदस्य–सचिव बुढाले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालको प्रचलित कानुन र सम्झौताका सर्त पालना नगरे सरकारसँग स्पष्टीकरण सोध्ने, परियोजना सम्झौता रद्द गर्ने वा संस्था निलम्बन गर्नेसम्मको अधिकार रहेको पनि जानकारी दिए।