© 2026
बर्दघाट । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेका छन्।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा नगर प्रमुख श्रेष्ठले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएपछि नगरको समग्र विकासलाई प्राथमिकतामा राख्दै नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै जनहितका काममा निरन्तर लागिरहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न अपुष्ट र भ्रामक सूचना फैलिने क्रम बढ्दै गएको उल्लेख गर्दै विशेष गरी २०८३ साउन १९ गते राष्ट्रियस्तरमा चर्चामा रहेको भूमि सम्बन्धी विषयसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएका सूचनाहरू निराधार रहेको स्पष्ट पारिएको छ।
नगर प्रमुख श्रेष्ठले यस्ता भ्रामक सूचनाको पछि नलागी सत्य–तथ्य बुझेर मात्रै धारणा बनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्। साथै आफ्नो नामको दुरुपयोग गरी कसैले व्यक्तिगत लाभ लिने प्रयास गरेको पाइएमा तत्काल जानकारी गराइ सहयोग गर्न समेत उनले आग्रह गरेका छन्।
प्रेस विज्ञप्तिमा आवश्यक जानकारीका लागि नगर प्रमुख शम्भुलाल श्रेष्ठ तथा नगरपालिकाका सचिवालय प्रमुखसँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।