© 2026
काठमाडौँ । चीनले फेरि एकपटक आफ्नो इन्जिनियरिङ क्षमता प्रदर्शन गर्दै टियानशान पर्वतमाला छिचोलेर विश्वकै सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको छ। टियानशान शेङ्ली सुरुङ करिब २२.१३ किलोमिटर लामो रहेको छ र सन् २०२५ को अन्त्यदेखि सञ्चालनमा आएको हो। यो सुरुङ उरुम्ची–युली एक्सप्रेसवे अन्तर्गत निर्माण गरिएको हो। सुरुङ सञ्चालनमा आएपछि चीनको उत्तर र दक्षिण सिन्जियाङबीचको यात्रा समय करिब ७ घण्टाबाट ३ घण्टामा झरेको छ। यसले स्थानीय आवतजावत, व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा उल्लेखनीय सहजता ल्याउने अपेक्षा गरिएको छ।
परियोजना निर्माणका क्रममा करिब ३,००० कामदारले पाँच वर्षभन्दा बढी समय उच्च हिमाली क्षेत्रमा काम गरेका थिए। कठोर मौसम, जटिल भौगोलिक बनावट र प्राविधिक चुनौतीका बीच सुरुङ सफलतापूर्वक निर्माण गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्। सञ्चालनमा आएपछि सुरुङका भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्। पहाड छिचोलेर निर्माण गरिएको विशाल सुरुङ, आधुनिक सडक पूर्वाधार र अत्याधुनिक प्रविधिले विश्वभरका प्रयोगकर्ताको ध्यान आकर्षित गरेको छ।
विश्लेषकहरूका अनुसार टियानशान शेङ्ली सुरुङ केवल यातायात सहज बनाउने परियोजना मात्र नभई चीनको दुर्गम क्षेत्रको आर्थिक विकास, क्षेत्रीय सम्पर्क विस्तार र आधुनिक पूर्वाधार निर्माण क्षमताको महत्वपूर्ण उदाहरणका रूपमा पनि हेरिएको छ।