© 2026
नेपालगन्ज । सुनसरी र सिराहा जिल्लामा भएका छुट्टाछुट्टै घटनापछि बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न विभिन्न निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रवार बसेको बैठकले साउन १० गते सुनसरी जिल्लामा भएको घटनामा मृत्यु भएका श्री ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा साउन १४ गते सिराहामा भएको घटनामा मृत्यु भएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
साथै, उक्त घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले यस्ता घटनाका कारण बाँके जिल्लामा कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले सबै सरोकारवालाको सहभागितामा साउन १६ गते बिहान साढे ७ बजे नेपालगन्जको बी.पी. चोकदेखि धम्बोझी (विरेन्द्र) चोकसम्म सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यसै गरी, विगतका सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे र साउन्ड सिस्टम बजाउन लगाइएको पूर्ण प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पुनः दोहोर्याइएको छ । साथै, विभिन्न धार्मिक कार्यक्रम तथा जुलुसका क्रममा हतियार प्रदर्शन नगर्ने तथा परम्परागत रूपमा प्रयोग हुने हतियारलाई प्रदर्शनका सट्टा प्रतिकात्मक रूपमा मात्र प्रयोग गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम राख्न सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सर्वसाधारणलाई जिम्मेवार तथा संयमित भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।