© 2026
भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारण तथा सरोकारवालाहरूसँग हार्दिक अपिल गरेको छ।
गत साउन १० गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको घटना पश्चात् अन्य केही जिल्लाहरूमा समेत शान्ति सुरक्षामा असहज परिस्थिति सिर्जना भई सर्वसाधारणमा भय र त्रासको वातावरण बनेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी मेघनाथ पाध्याद्वारा जारी सूचनामा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक अफवाह फैलाउने, पुराना विषय-प्रसंगलाई प्रविधिको प्रयोग गरी प्रचारमा ल्याउने, द्वेष फैलाउने तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव विथोल्ने जस्ता कार्य नगर्न सचेत गराइएको छ। यस्ता गैरकानुनी कार्य गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कडा कारबाही गरिने व्यहोरा प्रशासनले स्पष्ट पारेको छ।
सूचना अधिकारी मेघनाथ पाध्याद्वारा हस्ताक्षरित सो अनुरोध पत्रमा जिल्लामा शान्ति सुरक्षा, अमनचयन र आपसी सद्भाव कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख छ। प्रशासनले जिल्लाबासी सम्पूर्ण नागरिक, धार्मिक संघ-संस्था, धार्मिक गुरुहरु, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल तथा सञ्चारकर्मीहरुलाई आपसी एकता, सहिष्णुता र भ्रातृत्व कायम राख्न आह्वान गरेको छ।