© 2026
काठमाडौँ । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ छ ।
व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबिचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरेको छ ।
राष्ट्रसङ्घका सदस्य देशका सरकार, अन्तर्राष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलापलाई प्रवर्द्धन गर्ने कार्यक्रम, अभियान र पहल गर्न उक्त विश्व संस्थाले आह्वान गरेको छ ।
राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति तथा राष्ट्रबिचको मित्रताले शान्ति स्थापनाका प्रयासलाई प्रेरणा दिनुका साथै समुदायहरूबिच विश्वास र सहकार्यको पुल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ यो दिवस घोषणा गरिएको हो ।
राष्ट्रसङ्घको महासभाले विशेष गरी भविष्यका नेतृत्वकर्ता युवालाई विभिन्न संस्कृति र समुदायसँग जोडिएका सामाजिक गतिविधिमा सहभागी गराई अन्तर्राष्ट्रिय समझदारी, विविधताको सम्मान तथा सहिष्णुताको भावना अभिवृद्धि गर्न जोड दिएको छ ।
अन्तर्राष्ट्रिय मित्रता दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणाको निरन्तरता हो । युनेस्कोले शान्तिको संस्कृतिलाई प्रवर्द्धन र हिंसा अस्वीकार, द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्ने तथा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
यसै अवसरमा युनेस्कोले मित्रता, सम्मान, विविधताको स्वीकार र आपसी विश्वासबाट नै शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
तस्बिर: संयुक्त राष्ट्रसङ्घ