© 2026
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले चौधरी र सोही कार्यमा संलग्न भएको आरोपमा तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि निकालिएको पेस्की रकम घुसका रूपमा प्रयोग भएको पाइएको अख्तियारको जिकिर छ।
कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएका तत्कालीन एमआईएस अपरेटर सुरेश कहारले ६ लाख रुपैयाँ पेस्की लिएको र उक्त रकम खातामा आउनासाथ उपाध्यक्ष चौधरीको बैंक खातामा ५ लाख रुपैयाँ जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चौधरीको बैंक खातामा जम्मा भएको उक्त ५ लाख रुपैयाँ कहारले कार्यालय सहयोगीको नाममा चेक काटी जम्मा गरेको भेटिएको थियो।